कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य अभ्यास
दैलेख : कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य सम्बन्धी घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दैलेखको आयोजनामा प्रदेशस्तरिय प्रतिकार्य अभ्यास गरिएको हो । आठबीस नगरपालिका–४ राकमकर्णाली स्थित कर्णाली नदिमा उक्त अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए । वर्षायाममा हुन सक्ने सम्भावित जल उत्पन्न प्रकोपका घटना न्यूनिकरणका लागि नदिमा नमूना अभ्यास गरिएको कोइरालाको भनाई छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीसहितको संयुक्त टोलीले नदिमा अभ्यास गरेको हो ।
बाढीमा परेकाहरुलाई उद्धारका क्रममा डुंगा पल्टिदाँ कसरी जोगिने, पानीमा करेन्ट प्रवाह भएको अवस्थामा कसरी बच्ने लगाएतका विषयमा अभ्यास गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखका डिएसपी देवराज विस्टले बताए । उनका अनुसार उद्धारकर्मीले अपनाउनुपर्ने उपाय, पानीको सतहमूनि रहेको मृत शरिरलाई उद्धार तथा खोजीका उपाय सम्बन्धी पनि अभ्यास गरिएको डिएसपी विस्टले जानकारी दिए । विपद्मा परेकालाई उद्धार, घाइतेहरुको प्राथमिक उपचारदेखि थप उपचारका लागि सरकारी संयन्त्रबीच समन्वय र सहकार्यका लागि समेत अभ्यास गरिएको थियो ।
कर्णाली नदिमा जल उत्पन्न प्रकोप प्रतिकार्य अभ्यास कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आगलागी, बाढीपहिरो, डुवान जस्ता प्राकृतिक विपद्का् जोखिम रहेको बताए । विपद् जोखिम न्यूनिकरणमा प्रदेश सरकार सजग भई तयारी अवस्थामा रहेको मन्त्री जिसीको भनाई छ ।