Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता

सुर्खेत  :  सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालय मार्फत निवेदन दिन आह्वान गरेको थियो ।
आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन संकलनका लागि सूचना निकालेको थियो । सुर्खेतमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म पीडितहरूको निवेदन संकलन गर्न सूचना निकालेको थियो । त्यसपश्चात सात दिनको सूचना थप गरिएको हो । अब आगामी आइतबारसम्म पीडितको निवेदन संकलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

मिटरब्याज सम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला शासन कार्यालय सुर्खेतका मिटरब्याज सहायता कक्षमा कार्यरत गोमा सुवेदीले बताइन् । मिटरब्याजमा ठगी हुनेमा अधिकांश महिला रहेको सुवेदीले बताइन् । अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ,’ सुवेदीले भनिन्, पुरुषहरू फाटफुट मात्र निवेदन ल्याएर आउनुभएको छ । यसरी ठगीनेहरू धेरैजसो ऋण लिने र जग्गा अटोपास गर्दा ठगीमा परेको पीडितहरूले उल्लेख गरेको सुवेदीले बताइन् । निवेदन दर्ता गराउन आउनुभएका धेरैजसो जग्गा दृष्टिबन्धक राखेको र ठगीमा परेको जनाउनुभएको छ,’ उनले भनिन्, कतिपय भने पाँच लाख रकम ऋण लिएर १५ लाख सम्म बुझाउनुपरेको अवस्था रहेको समस्या राख्नुभएको छ ।

कार्यालयले मिटरब्याज पीडितहरूलाई सहायताका लागि छुट्टै सहायता कक्षको समेत व्यवस्था गरेको प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । सहजीकरणका लागि हामीले कक्ष नै व्यवस्था गरेका छौँ, त्यहाँ पीडितहरूलाई फर्म भर्ने लगायतका काममा सहयोग समेत गरिन्छ प्रशासकीय अधिकृत न्यौपानले भने,सहायता कक्षमा छुट्टै कर्मचारी राखेर पीडितका निवेदन लिने काम गरेका छौ ।

कार्यालयमा भौतिक रूपमा उपस्थित भएर निवेदन दिन नभ्याउनेहरूका लागि अनलाइनमार्फत पनि निवेदन दिन सकिने व्यवस्था समेत छ ।
आयोगले मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानुन विपरीत चर्को ब्याजमा भएका कारोबारलाई समेत अनुचित लेनदेन भनेको छ । ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेको लगायतका विषय समेतको अवस्थामा विवरण पेस गर्न अनुरोध गरेको छ ।