टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार राति पक्राउ परेका उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। म्याद थपका लागि उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत लगिएको थियो।
उनलाई अनुसन्धानका लागि म्याद थपको प्रक्रिया पूरा गर्न अदालत लैजानुअघि प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो। सरकारी वकिलको कार्यालयबाट अदालत लगिएको हो।
उनी आइतबार राति काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका हुन्। उनीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीमा रहेका उनी उतैबाट फरार भएका थिए। उनका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।
यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परिसकेका छन्। यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि थप ४ दिन म्याद थप भएको छ।