Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस


काठमाडौँ  :  संवैधानिक परिषद्‍ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका पदेन समस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को दवाव परेको थियो । परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा निलम्बनमा परेयता सर्वोच्च न्यायालय १४ महिनादेखि कायममुकायम नेतृत्वमा थियो । जबराको निलम्बनपछि सुरुमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । ७ महिना तदर्थ रूपमा नेतृत्व गरेर उनी सेवानिवृत्त भएपछि असोज १५ देखि अर्का वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामुका रूपमा सर्वोच्चको नेतृत्व सम्हाल्दै आएका थिए ।