युएईलाई हराउँदै नेपाल च्याम्पियन
काठमाडौं : गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ ।
१० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् ।
जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेका छन ।
उनले ८४ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अविजित ६७ रन बनाएका थिए । गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाए । भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोडेका थिए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई एक र आशिफ शेखलाई आठ रनमा गुमाएको थियो । कप्तान रोहित पौडेल पनि एक रनमा पेभेलियन फर्केका थिए ।
घरेलु मैदानमा दर्शकको साथमा नेपालले समूह चरण देखिनै अपराजित यात्रा कायम राख्दै उपाधि चुमेको हो । उपाधिसँगै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको हो । यसअघि नेपालले सन् २००२ मा पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो । त्यतिबेला सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो । तर भारत र पाकिस्तानसँगको आन्तरिक द्वन्द्वका कारण त्यति बेला एसिया कप रद्द भएको थियो । जसले गर्दा नेपालले छनोट भएर पनि खेल्न पाएको थिएन ।