Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शान्तिपूर्णरुपमा सकियो मतदान

काठमाडौँ  :  प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । यद्यपि मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।

आयोगकाअनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको जानकारी दिए । स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको तयारी समेत गरिसकेका छन् । आयोगका अनुसार बारा–२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन–२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ–१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ ।
बारामा साँझ ८ बजेसम्म मतपेटिका संकलन भइसक्ने अनुमान छ भने चितवनमा १० र तनहुँमा राति ११ बजेभित्र मतपेटिका संकलन भइसक्ने अनुमान छ ।