Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेपालले ओमानलाई ८४ रनले हरायो


काठमाण्डौ  :  एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । आज शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो । नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमा अलआउट भयो । ओमानका ब्याटर अकिब इलियास घाइते हुँदै क्रिजमा नआई रिटायर्ड आउट भएपछि नेपाल विजयी भएको थियो । ओमानका लागि मोहम्मद नदीमले ६५ र सन्दीप गोदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले तीनरतीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायो । नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नौ चौकाको मद्दतमा एक सय आठ रन जोडे । यस्तै सोमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए ।

आजको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी योगफल बनाएको छ । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएको पीएनजीसँगको खेलमा दुई सय ९७ रन बनाएको थियो ।

यस्तै आजको खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा यो कीर्तिमान बनाएका हुन् । यो जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

एसीसी प्रिमियर कपको समूह ए मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।