पिछडिएका बर्गको उत्थानका लागी राज्यले लगानी कम : अध्यक्ष खत्री
दैलेख : गैरसरकारी संस्था महासंघ दैलेखका जिल्ला अध्यक्ष महारुप खत्रीले संघीय संरचनापछि स्थानीय सरकारहरुले पिछडिएको समुदाय, अशक्त, असहाय, बालबालिका र ज्येष्ठ नागरिकहरुको कल्याणकारी कार्य गर्न लगानी कञ्जुस्याइँ गरेको बताएका छन । नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालयले दैलेखमा मंगलवार आयोजना गरेको क्षमता अभिबृद्धि तथा सीप विकास कार्यक्रम अन्तरगतको नेत्रहीन समस्या भोगिरहेका नागरिकका अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रममा उनले सो विचार राखेका हुन ।
अध्यक्ष खत्रीले पहिलेका गाविस र नगरपालिकाहरुलाई पिछडिएको समुदाय, अशक्त, असहाय, बालबालिका र ज्येष्ठ नागरिकहरुको कल्याणकारी कार्य गर्न निश्चित बजेट बिनियोजन गर्ने गरेकोमा संघीय संरचनापछि कटौती गरेको आरोप लगाए ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सुशासन र पारदर्शिताको खवरदारी गर्ने निकायहरुसंग अहिलेका स्थानीय सरकार सञ्चालकहरु पूर्वाग्रह राख्ने, नागरिक समाजको सुझावहरु बेवास्ता गर्ने गरेको उल्लेख गर्दै नेत्रहीन संघले दवाव बढाउन सुझाव दिएका छन ।
कार्यक्रममा नेपाल नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालयका सामाजिक परिचालक प्रेमप्रकाश खत्रीले स्थानीय सरकारसंग समन्वय गर्न चाहेको तर अपेक्षा गरेजस्तो सहयोग नपाएको गुनासो गरे । उनले नेत्रहीनहरुको समस्या बारे नागरिक समाज संस्थाहरुको समन्वय र सहकार्यमा आवश्यक रहेको बताए ।
नेपाल नेत्रहीन संघ दैलेख शाखाका अध्यक्ष ओमप्रकाश शर्माले नेत्रहीन संघ कर्णाली प्रदेश कार्यालय सुर्खेतले सञ्चालन गरेको क्षमता अभिबृद्धि तथा सीप विकास कार्यक्रममा नेत्रहीन समस्या भोगिरहेका नागरिकका अभिभावकहरुको सहयोग बढाउन अभिमुखीकरण कार्यक्रम गरिएको बताए ।