न्यायिक समितिको काममा सबैको सहयोग आवश्यक : मेयर शर्मा
दैलेख : नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन । यूएनडीपीको एटुजे परियोजना र इन्सेकले दैलेखमा आज आयोजना गरेको न्यायिक समितिको कार्यमा सरोकारवालाको भूमिका विषय समन्वय बैठकमा उहाँले सो विचार राखेका हुन ।
‘न्यायिक समितिले काम गर्न सक्छ, गराउनुपर्छ भनेर जिम्मेवार बनाउन लगाउने र समन्वयकारी भूमिका भए सेवाग्रहीहरुले उजुरी ल्याउने अनि त्यस अनुसार राम्रो काम गर्ने वातावरण बन्न सक्छ’ मेयर शर्माले भने ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले स्थानीय तहहरुले कानून परामर्श दिने, सचेतना बढाउने काम गर्न सके नागरिकहरुमा विश्वास पैदा भएर अहिले प्रहरीमा आइरहेका मुद्दाहरु न्यायिक समितिमा आउन सक्ने बताए । नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापाले नागरिक समाज र समुदायसंग समन्वय कमी भएको स्वीकार गर्दै समन्वय बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरिन ।
दैलेखका प्रहरी इञ्चार्ज डीएसपी किशोर लम्सालले न्यायिक समिति प्रभावकारी हुन सके प्रहरीमा आउने घरेलु हिंसा लगायतका सामाजिक विवादको चाप घट्ने बिश्वास गरेका छन । उनले यस्ता विवाद न्यायिक समितिमा गएमा प्रहरीले अपराध नियन्त्रणमा केन्द्रित हुन सजिलो पर्ने बताए ।