प्रहरीको नयाँ आईजीपीमा बसन्त कुँवर नियुक्त
काठमाडौं : सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो। कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । दुई दिनअघि मात्र उनिहरुले एआईजीको फुली लगाएका थिए। कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नेछन्।
हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन्। उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता आईजीपी बनेका थिए। एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन्। उनी गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा भएका थिए।
सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो। त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहेका थिए। कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहेका थिए।