हत्या कसुरमा जन्मकैदको फैसला
दैलेख : जिल्ला अदालतले डेढ वर्ष अघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीय मुना राना खड्कालाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले बुधवार कसुरदार मुना राना खड्कालाई जन्मकैद र मुनाका पति ३५ वर्षीय डम्बर खड्कालाई सफाइ दिएको जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले कुरदारलाई जन्मकैद (२५ वर्ष) कारावास बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख गरिएको जानकारी दिए ।
मालिका माध्यमिक विद्यालय लालीकाँडा मुकुट्मा राहत शिक्षक पदमा कार्यरत ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको ०७८ भदौ २९ गते राति हत्या भएको थियो । आफू माथि यौनजन्य दुब्र्यबहार गरेको भन्दै मुना राना खड्काले हत्या गरेको बयान दिएकी थिइन । घटनाको बेला सुर्खेतमा रहेका मुनाका पति डम्बरलाई मुनाले हत्या घटना लगतै मोबाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौँला’ भनी मेसेज गरेको आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो । लुकाउने प्रयास गरौँला’ भनी मुनालाई मेसेज लेखेकै आधारमा हत्या अभियोगमा उनी डेढ वर्ष थुनामा राखेर बुधवार मात्र सफाइ पाएका छन ।
पीडित पक्षको उजुरी र प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०७८ कात्तिक ४ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो । अभियोग सम्बन्धमा कात्तिक ५ गते भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित मुना र डम्बरलाई जिल्ला कारागारमा राखिएको थियो ।