पशुपतिदेखि दैलेखको पञ्चकोसी यात्रा
काठमाडौं : धार्मिक तथा ऐतिहासिक रुपले महत्त्व बोकेको दैलेखको पञ्चकोसी तीर्थस्थललाई संघीय राजधानीसँग जोड्न भन्दै पशुपतिदेखि पञ्चकोसीसम्म यात्रा सुरु भएको छ । मनघरी फाउन्डेसनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य पशुपतिदेखि पञ्चकोसी यात्रा सुरु गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधका तर्फबाट कर्णाली प्रदेशसभाका सांसद घनश्याम भण्डरीले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र भएपनि प्रचार प्रसार हुन नसकेको भन्दै काठमाडौँ देखी दैलेखको पञ्चकोसीको यात्रार प्ररारम्भ गरिएको बताए ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यात्रा सफलताको शुभकाना दिँदै यसले संघीय राजधानी र कर्णाली प्रदेशलाई जोड्न महत्त्वपूर्ण योगदान दिने जनाए । प्रतिनिधिसभा सदस्य अमर थापा, दिक्पाल शाही, काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय, भक्तपुरका प्रजिअ खगेन्द्र रिजाललगायतले यात्रा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा यात्राका परिकल्पनाकार एवं नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका पर्यटनदूत भरतबन्धु थापाले कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, सांस्कृति तथा पर्यटकीय क्षेत्रलाई नेपाल तथा विश्वमाझ थप चिनाउनु आवश्यक ठानेर संघीय राजधानीसँग जोड्न सकिए जिल्लाका पर्यटकीय स्थलहरु गन्तव्यका रुपमा स्थापित हुने विश्वासले कार्यक्रम गरिएको बताए । यात्रापश्चात् संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्बिर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउन्डेसनले जनाएको छ ।