Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

खानेपानी योजनामा जिपिएस टेक अलर्ट जडान


दैलेख  :   खानेपानी योजनालाई दिगोपना बनाउनका लागी जिपिएस टेक अलर्ट प्रविधि जडान गरिएको छ । जिल्लाको नौमुले गाउँपालिकामा नेपाल सरकार फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा निरस परामर्शदाता कम्पनीको प्राविधिक सहयोगमा निर्माण गरिएका खानेपानी योजनाको ट्याङ्कीमा जिपिएस टेक अलर्ट प्रविधि जडान गरिएको हो ।
दिगो खानेपानी तथा सरसफाइ स्वच्छता आयोजनाका वास सल्लाहकार सूर्य थापाले खानेपानी योजना निर्माण हुने र हस्तान्तरण नहुँदै बिग्रिने समस्यालाई समाधान गर्न जिपिएस अलर्ट प्रविधि जडान गरिएको बताए । उनले सात वटा खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा जडान गरिएको जिपिएस टेक अलर्टको कर्णाली प्रदेशको सुर्खेत बाट निरीक्षण गर्न सकिने जानकारी दिए । उनले भने खानेपानी क्षेत्रमा देखिएका समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि गाउँपालिकामा निर्माण सम्पन्न भएका योजनामा जिपिएस टेक अलर्ट प्रविधि जडान गरेका छौ । पाँच वर्ष सम्म आयोजनामा कुनै समस्या भएको खण्डमा जानकारी प्राप्त हुन्छ र त्यस बाट आवश्यक मर्मत गर्न सकिन्छ ।

नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले आफ्नो ठाउँमा निर्माण भएका योजनाहरू निर्माण गर्ने उपभोक्ता समिति र उपभोक्ताहरू जिम्मेवार नबन्दा राज्यको करोडौँ लगानी खेर जाने गरेको बताए । उनले खानेपानी योजना निर्माण गर्ने र एक वर्ष नपुग्दै पुन बजेट माग्ने प्रथालाई यसले पूर्ण रूपमा निरुत्साहित गर्ने बताए । उनले भने हामीले निर्माण गरेको आयोजना एक वर्ष भन्दा बढी टिक्दैन उपभोक्ताले त्यसको हेरचाह नगर्ने प्रवृत्तिका कारण समस्या सिर्जना हुने गरेको छ । त्यसका लागी जिपिएस प्रविधि उपयुक्त हुने आफूले विश्वास लिएको बताए । खानेपानी योजना मात्र नभएर अन्य योजनाहरू निर्माण भएपछि त्यसको रेखदेख,मर्मत सम्भार कोष निर्माणका लागी नागरिक जब सम्म जाग्दैन तब सम्म योजना दिगोपना नहुने अध्यक्ष सुबेदीको भनाइछ ।
दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाका एमआइएस सल्लाहकार छत्र चौधरीले योजनालाइ दिगोपना बनाउनका लागी सरकारी निकाय बाट निर्माण गर्ने योजनामा समेत जिपिएस प्रविधि जडान गर्न सकेको खण्डमा योजनाको गुणस्तर र दिपोपना हुने बताए । उनले कर्णाली प्रदेशका २१ वटा स्थानीय तहमा निर्माणाधीन खानेपानी योजनामा जिपिएस टेक अलर्ट प्रविधि जडान गर्ने जनाएको छ ।