स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
दैलेख : नारायण बहुमुखी क्याम्पसमा रहेको स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको छ । चैत ३ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच चुनावी तालमेल गरी कोषाध्यक्षमा उम्मेदवार बनेकी डिलमाया थापा मगरको उम्मेदवारी सङ्गठनको आधिकारीक पत्र नपठाउँदै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार फिर्ता लिएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हो ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ निर्वाचन अधिकृतको कार्यालयले सङ्गठनले मनोनयन फिर्ताको पत्र नपठाउँदै आमुख सङ्गठनलाई फाइदा हुने देखि आफ्नो सङ्गठन बाट साझा उम्मेदवार बनेका व्यक्तिको मनोनयन फिर्ता लिएको भन्दै तत्काल उक्त कार्य नसच्याए सम्म तालाबन्दी गर्दछौ । त्यस्तै निर्वाचनलाई स्वच्छ मर्यादित र निष्पक्ष र भए रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागी अमुक पार्टीको इशारामा काम गर्ने निर्वाचन समितिलाई भङ्ग नगरे सम्म निर्वाचनमा सहभागी नहुने उल्लेख गरिएको छ ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बाट सचिव पदमा साझा उम्मेदवार पृथ्वी बहादुर सिंहले स्ववियु निर्वाचन निर्देशिका २०७९ को दफा २९ को ३ मा कुनै सङ्गठनको तर्फ बाट उम्मेदवार मनोनयन दर्ता भएको उम्मेदवारको सम्बन्धमा दफा १४ बमोजिम तोकिएको पदाधिकारीले निजको नाम फिर्ता लिने गरी उपदफा १ बमोजिम उम्मेदवारको नाम फिर्ता लिन सकिने समय भित्र लेखि पठाए पछि मात्र उम्मेदवार रूपमा कायम नहुने व्यवस्था भए पनि निर्वाचन अधिकृतको कार्यालयले सङ्गठनको पत्र बिनै उम्मेदवारको नाम फिर्ता गरिएको भन्दै आफूहरूले तालाबन्दी गरिएको बताए ।
नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नर बहादुर शाहीले नाम फिर्ताका विषयमा विवाद भएपछि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी भएको बताए । उनले स्ववियु निर्वाचन निर्देशिका २०७९मा उम्मेदवारले नाम फिर्ता लिने सम्बन्धी स्वतन्त्र बाट मनोनयन दर्ता गरेका उम्मेदवार र सङ्गठनको तर्फ बाट उम्मेदवार बनेकाहरूको हकमा स्पष्ट व्याख्या नगरेका कारण समस्या भएको बताए ।