Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौँ  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ुराप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,ु उनले भने ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुनस्स्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुनस्स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।