प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले बताए । अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट भने दर्ता प्रक्रियामा छ ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च गएका हुन् । शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो ।
यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए । सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो ।
त्यसपछि आरण र बुढाथोकी रिट दर्ता गर्न सर्वोच्च गएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए ।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए । उक्त भाषणलाई आधार बनाएर उनलाई पक्राउ गर्ने आदेश माग गरिएको रिट आज दर्ता भएको हो ।