राष्ट्रपति निर्वाचनबारे एमाले सांसदलाई प्रशिक्षण
काठमाडौँ : नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि संघ तथा प्रदेशका सांसदहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार प्रदेश, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई प्रशिक्षण कार्यक्रम राखेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिको उम्मेदवार बनाएका सुवास नेम्वाङलाई जिताउने गरि लाग्न निर्देशन दिए । नेम्वाङ सबै हिसाबले विपक्षी उम्मेदवार हुन राष्ट्रपति हुन योग्य रहेको भन्दै जिताउने गरि लाग्न भन्नु भएको छु सांसद महेश बर्तौलाले भने, अध्यक्षले राष्ट्रपतिको गरिमा, देशको अभिभावक रुपमा काम गर्न सक्ने व्यक्तित्व भएको बताए । कार्यक्रममा ओलीले एमालेका सांसदहरुलाई अन्य दलका सांसदहरुलाई मत दिन आह्वान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेम्वाङले आफ्नो राष्ट्रपतिमा निर्वाचित भए संविधानको परिधिमा रहेर काम गर्ने बताएका छन् । एमालेको प्रतिनिधिसभा ७९, राष्ट्रिय सभामा १६ र प्रदेश सभामा १ सय ७१ सांसद रहेका छन् । उनीहरुको कुल मतभार १५ हजार १ सय ५४ मत रहेको छ । संघीय सांसदहरुको मतभार ७९ र प्रदेशसभाका सांसदहरुको मतभार ४८ हुन्छ । हालसम्म एमाले उम्मेवार नेम्वाङलाई आफ्नै दलका बाहेक अन्य दलले मत दिने प्रतिवद्धता सार्वजनिक गरेका छैनन् । पहिलो र दोस्रो चरणमा चुनाव जित्नका लागि २६ हजार ३ सय भन्दा बढी मतभार आवश्यक हुन्छ । ८ राजनीतिक दलले भने कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा औपचारिक रुपमा प्रतिवद्धता जनाएका छन् ।