Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

दैलेखको विकास खर्च आठ महिनामा ३० प्रतिशत

दैलेख  :  दैलेखमा चालु आर्थिक वर्ष ०७९÷८०को आठ महिनामा ३०.४१ प्रतिशत विकास बजेट खर्च भएको छ । बितेको आठ महिनामा विकास लक्षित बजेटको पुँजीगत खर्च हेर्दा निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखले दिएको जानकारी अनुसार सङ्घ बाट जिल्लामा विनियोजित भएको बजेटको पुँजीगत तर्फ दुई अर्ब २० करोड ८८ लाख ८१ हजार मध्ये फागुन १९ गते सम्म ६७ करोड १७ लाख ३७ हजार ६५४ रुपियाँ मात्रै खर्च भएको छ । जिल्लामा विकास बजेटका लागी छुट्ट्याएको कुल बजेटको ३०.४१ प्रतिशत हो ।

त्यस्तै चालु खर्च तर्फ तलब भत्ता,कर्मचारीको सेवा सुविधा भने उल्लेखनीय रूपमा बजेट खर्च भएको छ । चालु तर्फ आठ महिनामा ५३.४३ प्रतिशत खर्च भएको कार्यालयले जानकारी दिएको छ । चालु तर्फ पाँच अर्ब ९४ करोड ३५ लाख २४ हजार ७१८ मध्ये हाल सम्म तीन अर्ब १७ करोड ६० लाख ९३८ रुपियाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख मोहन कुमार जैसवालले स्थानीय तहमा जाने निकासा रकम खर्चमा देखिने भएका कारण पुँजीगत खर्च बढी देखिएको जानकारी दिए । उनले स्थानीय तहका लागी सङ्घीय सरकार बाट आएको सर्सत अनुदान,विशेष अनुदान,समपूरक,समानीकरण जस्ता रकम निकासा दिँदा खर्च देखिएको भए पनि बजेट खर्च भए नभएको स्थानीय तहलाई जानकारी हुने बताए ।

उनले भने जिल्लामा गौरवका रूपमा रहेका मध्य पहाडी पुष्पलाल राजमार्ग, नयाँ सहर आयोजनाका कारण बजेट धेरै खर्च भएको देखिए पनि विकास बजेट खर्च निराशा जनक रहेको बताए । अहिले सम्म ४० देखी ५५ प्रतिशत बजेट खर्च भइसक्नु पर्ने थियो तर ३०.४१ प्रतिशत मात्र बजेट खर्च भएको छ । समयमै पुँजीगत बजेट खर्च नहुँदा आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो हुने कोष नियन्त्रक जैसवालले बताए ।

यस्तै प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयको खर्चको अवस्था समेत निराशाजनक देखिएको छ । आर्थिक वर्षको आठ महिना बित्नै लाग्दा समेत पुँजीगत बजेट १८.९२ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश लेखा इकाइ कार्यालय दैलेखका अनुसार एक अर्ब ६५ करोड सात लाख ९६ हजार रुपियाँ मध्ये ३१ करोड २२ लाख ५३ हजार ३८९ मात्र खर्च भएको जनाएको छ ।

त्यस्तै प्रदेश सरकारले विनियोजन गरेको चालु खर्चको बजेट एक अर्ब १४ करोड ३० लाख ५५ हजार पाँच सय मध्ये हाल सम्म ३४ करोड ५३ लाख ६१ हजार ५३१ रुपियाँ खर्च भएको छ । जम्मा ३०.२१ प्रतिशत खर्च भएको छ ।

प्रदेश लेखा इकाइ दैलेखका लेखापाल दशरथ रानाले जिल्लामा आएको विकास बजेट खर्च हुनै नसकेको बताए । उनले विकास लागी आएको बजेट खर्च हुन नसक्नुमा सम्बन्धित निकाय नै जिम्मेवार हुनु पर्ने बताए । उनले भने प्रदेश भौतिक पुर्वधार मन्त्रालय बाट पुर्बधार विकास कार्यालयका लागी आएको बजेट ९८ करोड २६ लाख ३२ हजार मध्ये हाल सम्म १६ करोड ७९ लाख सात हजार ७३६ मात्र रकम खर्च भएको छ । यो दुखद पक्ष हो ।

जिल्लामा भएको विकास खर्चको अवस्था हेर्दा अन्त्यतै नाजुक अवस्था रहेको सुशासन विज्ञ दुर्लभ बोगटीले बताए । उनले भने जिल्लामा अहिले पनि असारे विकासको अवधारणा बाट मुक्त हुन सकेन त्यसले कामको गुणस्तरीयता र दिगोपनालाई समेत चुनौती भएको छ ।