सुर्यबंशी पालथापा र पालदमाईको इतिहास खोज्दै युवाहरू
दैलेख : सुर्यबंशी पाल थापा र पाल दमाईको पुर्खौली थातथलो गोत्र बंश परामपरा खोज्न युवाहरू लागी परेका छन् । दैलेखको आठबिस नगरपालिका –१ सात्तलाका युवाहरू सुर्यबंशी पाल थापा र पाल दमाईको इतिहास खोज्न भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको अस्कोट क्षेत्रमा गएका छन् ।
आठबिस नगरपालिका –१ सात्तला युवा तथा आठबिस नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका वीर बहादुर नेपालीले दैलेखमा सात्तला बसेका पाल थापा र पाल दमाईको इतिहास खोज तथा लेखन कार्य सुरुवात गर्न युवाहरूको टोली भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको अस्कोट क्षेत्रमा प्रस्थान गरेको बताए ।
उाले अस्कोट क्षेत्रमा हिन्दु र मुस्लिमहरू बिच लडाई भएपछि आफ्नो धर्म र जनाइ बचाउन्न नेपालका विभिन्न स्थानहरूमा आएको भन्ने पुर्खाहरूको भनाई अनुसार त्यसको वास्तविकता पत्ता लगाउन यहाँका पाल थापाका युवा र पाल दमाईका युवाहरू भारत तर्फ प्रस्थान गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशका दार्चुला,डडेलधुरा,बाजुरा,डोटी अक्षाम जिल्लामा आएर बस्दै पछि सात्तला आएको भन्ने भएको हुँदा उक्त क्षेत्रमा समेत गएर त्यहाँका बुढापाका सँग छलफल गरिने बताए ।
दैलेख आठबिस नगरपालिका –१ का पुराना नेता तथा राष्ट्रिय सभा सदस्य समेत रहिसकेका रङ्गनाथ जोशीले सात सय वर्ष अघि पाल थरका ठकुरीका तीन भाइ सिकार खेल्दै सात्तला आएको भन्ने सुनिएको बताए । । उनले सात्तलामा रहेका बाहुन धारामा दुई भाइले पानी खाएको तल्लो धारामा दलित थरकी महिला कपडा धुन लागेकै ठाउँमा एक भाइ गएर पानी खाएपछि त्यसपछि उनलाई दलित बनाएको भन्ने पुर्खाहरूले आफूहरूलाई सुनाएको बताए । लिखित इतिहास र त्यस सम्बन्धी कुनै दस्ताबेज नभए पनि त्यहाँ राजाहरूले राज गरेको ठाउँहरू जस्तै सिद्ध गुफा,देउलीडाडा,रुद्रमान र रतिमान भन्ने ठाउँहरू रहेको इतिहास बारे जानकार राख्ने जोशीले जानकारी दिए ।
पाल थापाको इतिहास खोज्न हिँडेका शिवराज थापाले स्थानीय स्तरमा खेलिने हुड्क्यौलीमा बाल राजा काशीरामका बारे कसरी आए कहाँ कहाँ बस्ने गरेको भन्ने गरेको बताए । उनले हुड्क्यौली गाउँदा समेत भारतको उत्तराखण्ड पिथौरागढ,अस्कोट क्षेत्र र सात्तलाका रुद्रमान र रतिमान क्षेत्रका बारेमा समेत भन्ने गरिएको बताए ।
उनका अनुसार अनुसार पाल थर नेपाल तथा भारतको विभिन्न स्थानहरूमा बसोबास गर्ने उच्च ठकुरी थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा कत्युरी राजवंशका पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । भारतको कुमाउँ–गढवाल र डोटी क्षेत्रमाकत्युरी राजवंशका पाल राजाहरूको राज्य थियो । यी पाल राजाहरूका वंशज दार्चुला जिल्लाको लेकम गर्खा भारतको कुमाउ पिथौरागड जिल्लाको अस्कोट र डोटी बोगटान क्षेत्रमा फैलिएर रहेका छन् ।
कुमाउको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । सिजाका खस राजा,दुल्लुका राजा र अक्षामका राजा समेत पालबंश र सुर्यवंशी वंश बाट राजा भएको समेत दुल्लुमा रहेको नेपाली भाषाको शिलालेखमा उल्लेख भएको पाइन्छ ।