Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राजनीति गर्ने थलो बन्दै विद्यालय

कमल शर्मा
दैलेख  : शुक्रबार डुगेश्वर गाउँपालिका–४ मा रहेको सीता जनसहयोग माध्यमिक विद्यालयमा चार जना विद्यालय व्यवस्थापन समिति सदस्य छनोट गर्न निर्वाचन भयो । नेपाली काँग्रेसबाट चार जना र नेकपा (एमाले)बाट चार जना सदस्य निर्वाचनमा होमिएका थिए । निर्वाचन भयो । नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका दीपेन्द्र थापा, निम बहादुर बुढा, टिका कार्की र हरिकला सुनार विजयी भए ।
विद्यालयका प्रधानाध्यापक तेजकुमारी थापाले विद्यालय व्यवस्थापन समितिको गठन गर्दा सहमति नभएपछि डुगेश्वर गाउँपालिकाको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियासम्बन्धी कार्यविधि अनुसार निर्वाचन गरिएको बताइन । गत पुस १३ गते अभिभावक भेला आयोजना गरिएको र त्यहाँ सहमति नभएपछि निर्वाचन गराउनु परेको थियो ।

नारायण नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति दुई वर्ष सात महिनासम्म रिक्त रह्यो । विद्यालय प्रशासनले बिव्यस गठनका लागि निर्वाचन प्रक्रिया थालेपछि जिल्लाका राजनीतिक दलले प्यानलसहित उम्मेदवार उठाए । निर्वाचन हुनु केही दिन अगाडि तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले आयोजना गरेको सर्वदलीय बैठकमा भागबण्डाका आधारमा पदाधिकारी बाँडफाँट गरियो । एमाले, काँग्रेस,माओवादी केन्द्र,मजदुर किसान पार्टी,एकीकृत समाजवादी पार्टी र राप्रपा नेपालबाट विव्यसमा प्रतिनिधित्व रह्यो । विद्यालयका प्रधानाध्यापक निरकबहादुर तारामीले विद्यालयले धेरै प्रयत्न गर्दा पनि विव्यस गठन गर्न नसकेको तर तत्कालीन प्रजिअको सक्रियतामा विव्यसले पूर्णता पाएको बताए ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ मा रहेको जयदेव माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनका लागी गत भदौ २९ गते अभिभावक भेला बोलाइयो । अभिभावक भेलामा २३ जना उम्मेदवार भएपछि विव्यस गठन हुन सकेन । नगरपालिकामा रहेका राजनीतिक दलले पुनः सर्वदलीय समिति गठन गर्ने सहमति बमोजिम चार जना सदस्य छनोट सँगै दुई जना मनोनीत गरियो । सर्वदलीय बैठकअनुसार एमालेबाट रणबहादुर खड्का,दिपा बोहरा, नेपाली काँग्रेसबाट हृदय शाही र टोपबहादुर बोहरा, नेपाल मजदुर किसानबाट कौशिला बिक, माओवादी केन्द्रबाट देबु शर्मालाई सदस्यमा निर्वाचित गरियो ।
सो विद्यालयका प्रधानाध्यापक तिलक शर्माले सर्वसम्मत सदस्यहरू छनोट गरे पनि अध्यक्षका लागि सहमति हुन नसक्दा छ महिनासम्म विद्यालय व्यवस्थापन समितिले पूर्णता पाउन नसकेको सुनाउँदै भने , “माघ २४ गते बल्ल सहमति जुट्यो र विद्यालयले विव्यस अध्यक्ष प्राप्त गर्नसक्यो ।”

महावु गाउँपालिका–५ कासिकाँधमा रहेको भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गाउँपालिकाका निवर्तमान अध्यक्ष नै अध्यक्षमा चुनिएका छन । । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा महावु गाउँपालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका उनी स्थानीय तहको निर्वाचन २०७९ मा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार भई पराजित भएका थिए ।

यी केही उदाहरण मात्र हुन् । राजनीतिक सहमति हुन नसक्दा जिल्लाका विद्यालयमा व्यवस्थापन समिति गठनमा समस्या पर्ने गरेको छ । राजनीतिक भागबण्डामा सहमति हुन्छ र त्यस्तो सहमति नहुँदा दलकातर्फबाट प्रतिनिधि उठाइन्छ । जिल्लास्तरीय नेतादेखि गाउँ तथा नगर तहका नेताहरू विद्यालय व्यवस्थापन समितिमा बस्ने होडबाजी नै चलेको छ ।

गुराँस गाउँपालिका–७ सरस्वती आधारभूत विद्यालय समिति गठनमा प्रधानाध्यापक मानबहादुर बुढाले एकलौटी गरेको भन्दै त्यहाँका अभिभावक जिल्ला प्रशासन समेतमा पुगेका छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकबाट चार जना छनोट गरेको र त्यही चार जनाबाट दीपक बिसीलाई अध्यक्षमा निर्वाचित गरिएको भए पनि विद्यालयका प्रधानाध्यापक बुढाले जग्गादाता र बुद्धिजीवीबाट एक एक जना ‘आफ्नो मान्छे’ मनोनीत गरी अर्कैलाई अध्यक्ष बनाएको भन्दै जिल्ला प्रशासनमा समेत उजुरी परेको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान दैलेखका सचिव एवं मानव अधिकारकर्मी अम्मर सुनारले राजनीतिक दलले विद्यालयलाई प्रभावमा पार्न र आफ अनुकूल निर्णय गराउन विद्यालय व्यवस्थापन समितिमा जाने गरेको बताए । उनले राजनीतिक कार्यकर्तालाई पद प्रभावमा पु¥याउन आश्रय दिने ठाउँ विद्यालय भएको बताए । उनले भने शिक्षा क्षेत्रमा राजनीति हुनुहुन्न भनेर भाषण गर्ने तर समिति गठन हुँदा सांसद पालिका अध्यक्ष वडा अध्यक्ष समेत भइसकेका व्यक्ति समितिमा जानु दुखद हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन बिष्टले विद्यालय ब्यबस्थापन समिति गठनका समस्या समधान गर्न पालिका जिम्मेवार बन्नु पर्ने बताए । उनले कक्षा १ देखी १२ सम्म हेर्ने अधिकार सबै संविधानले नै स्थानीय तहलाई दिएको आफ्नो पालिका भित्रको शैक्षिक गुणस्तरका लागी समेत पालिकाले जिम्मेवारी बहन गर्न सक्नुपर्छ ।

नेकपा एमालेका नेता रत्न बहादुर खड्काले विद्यालयमा पार्टीका नेता भन्दा पनी विद्यालयको शैक्षिक सुधारका लागी सम्बन्धित विद्यालयको अभिभावक रहेका ब्यक्ति बिव्यसयमा जाने गरेको बताए । उनले भने पार्टीका नेता तथा कार्यकर्ता भन्दा पनि समितिमा पठाइने ब्यक्ति त्यो विद्यालयको अबिभावक हो हो भनेर बुझ्नु पर्ने हुन्छ ।

नेपाली काँग्रेसका नेता गणेश प्रसाद उपाध्यायले विद्यालय राजनिति गर्ने थलो नभएको बताउँदै विद्यालय व्यवस्थापन समितिमा जाने ब्यक्ति स्वयम विद्यालयको अभिभावक नै हुने बताए । उनले भने पार्टीमा बिचार राख्ने कुरा फरक हो तर बिचार राखेकै भरमा पार्टी बाट प्रतिनिधित्व गरेको भन्नु हुदैन ।
राप्रपाका जिल्ला उपाध्यक्ष रण बहादुर सिहले ठुला दलले विद्यालयलाई आफ्नो राजनिति गर्ने थलोको रुपमा प्रयोग गर्ने गरेको आरोप लगाए । उनले भने जिल्लाका केही समित विद्यालयमा साना पार्टीमा बिचार राख्ने विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्छन अन्य सबै विद्यालयमा ठुलै दलका नेताहरु जार्ने गरेका छन ।