भुकम्पबाट हुम्लामा दुई घरमा क्षति
हुम्ला : बुधवार दिउँसो बाजुरा जिल्ला केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट हुम्ला जिल्लाका दुई वटा घरमा क्षति पुगेको छ । यसरी भुकम्पबाट क्षति पुग्नेमा विद्यालय र ब्यक्तिका घरहरु रहेका छन् ।
प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराइले अहिले ५ बजेसम्म हुम्लाको दुई वटा भवनमा क्षति पुगेको बताए । उनका अनुसार यसरी क्षति भएका घरमा अदानचुली गाउँपालिका –६ को पाल्स गाउँको कैलाशपुरी माविको दुई तले भवनको पश्चिमतर्फको भित्ता भत्किएको छ ।
सोही ठाउँ निवासी रामबहादुर बुढाको घरको उत्तरतर्फको भित्ता पनि चर्किएको छ । क्षति पुगेको स्थान भुकम्प गएको क्षेत्र नजिक पर्छ । बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भुकम्प गएको हो । दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको बिछ्यामा केन्द्रबिन्दु बनाएर आज ५।२ म्याग्नेच्यूडको भुकम्प गएको थियो ।