नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो
काठमाडौं : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले दिएको २ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले गरेको खराब सुरुवातका बावजुद पनि खेल जितेको छ।
नेपालले लिग–२ च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो। करण केसीले गरेको चौका प्रहारसँगै नेपाली टोलीले ४४ ओभर १ बलमै खेल जित्यो। यससँगै नेपालले घरेलु सिरिजका सबै खेल जितेको छ।
नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेलेर नेपाललाई जितको संघारसम्म डोहोर्याए। उनले १ सय १ बल खेलेर अविजित ९५ रन बनाउने क्रममा ४ छक्का र ७ चौका प्रहार गरे। क्रिजको एउटा छेउबाट निरन्तर विकेट खसिरहँदा रोहित भने अर्को छेउमा नडगमगाइ स्कोर थपिरहे।
आठौं विकेटमा उनलाई साथ दिन आएका करण केसीले ३७ बलमा ३१ रन हिर्काए। त्यस क्रममा उनले एक छक्का र २ चौका प्रहार गरे।
ओपनरका रुपमा मैदानमा उत्रिएका नेपालका कुशल भूर्तेल र आशिफ शेख दुवै जना सस्तैमा पवेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो। कुशल भूर्तेल १ रनमा आउट भए भने आशिफ शेख १२ रन बनाएर पेभेलियन फर्किए।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल पनि २१ रनमात्र बनाएर आउट भएपछि निकै दबाबमा आएको नेपाली टोलीले चौथो विकेटको रुपमा कुशल मल्ल र पाँचौँ विकेटका रुपमा सन्दिप जोरालाई गुमायो।
छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भएका छन्। मल्ल १७ रन बनाएर आउट हुँदा जोरा १ रनमा पवेलियन फर्किए। सातौँ विकेटका रुपमा सोमपाल कामी २ रन बनाएर आउट भए।
स्कटल्याण्डले कसिलो बलिङ थालेपछि नेपाल ब्याटरले खुलेर खेल्न सकेनन्। घरेलु मैदानमा जारी सिरिजमा शतप्रतिशत जित निकाल्दै नेपाल इतिहास रच्ने दाउमा रहेको थियो। स्कटल्याण्ड नेपालविरुद्ध यो सिरिजमा पहिलो जित निकाल्न चाहन्थ्यो। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्याण्ड ४६ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय १२ रनमा समेटिएपछि नेपालले मध्यम लक्ष्य पाएको थियो।
स्कटल्यान्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६० रनको योगदान गरे। म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकमुलनले ३१ रन जोडे। स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। करण केसीले ३ विकेट हात पार्दा ललित राजवंशी र कुशल मल्लले ११ विकेट लिए।