आगलागी बाट बच्न पूर्व तयारी नमुना अभ्यास
दैलेख : हावाहुरी चट्याङ एवम् अन्य कारणबाट हुने आगजनी जन्य घटना न्यूनीकरण सम्बन्धित पूर्व तयारी नमुना अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा नमुना अभ्यास गरेका हुन । नमुना अभ्यासमा भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर लगायत विभिन्न प्रकृतिबाट आगलागी हुँदा आगो कसरी नियन्त्रण गर्ने,आगोमा परेका नागरिकको कसरी उद्धार गर्ने जस्ता मुख्य मुख्य अभ्यास गरी नागरिकहरूलाई जनचेतना जगाउने काम गरिएको छ ।
नमुना अभ्यास कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नगरपालिकाका नागरिकलाई आगलागी बाट बच्न र बचाउन आगो बाट हुने क्षति कम गराउने उद्देश्यले उक्त नमुना अभ्यास गरिएको बताए । उनले आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने,कुन–कुन निकायलाई खबर गर्ने विषयमा नागरिकलाई सचेतना जगाउन यस्ता अभ्यासले सहयोग पुग्ने बताए । गृष्मकालीन मौसममा आगलागीको जोखिम बढी हुने भएकाले प्रत्येक स्थानीय तहमा नमुना अभ्यास मार्फत जानकारी गराउन सक्नु पर्ने र त्यसका लागी स्थानीय सरकारले चासो दिनु पर्ने प्रजिअ हमालले बताए ।
नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपाने नगरपालिका भित्र रहेका घरमा आगलागी हुन नदिन र आगलागी भएको खण्डमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा नगरपालिकाले विभिन्न सूचना प्रवाह गरिएको बताए । उनले भने आगलागी नियन्त्रणका लागी दमकल समेत नगरमा उपलब्ध त्यसको सेवा सबै नागरिकले लिन सक्नुपर्दछ ।
नमुना अभ्यास कार्यक्रममा सहभागी नारायण नगरपालिका –७ का राम बहादुर खड्काले नमुना अभ्यासमा वास्तविक आगलागी भएको जस्तै घटना हेर्न पाएको र आगो नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषय राम्रो सँग बुझिएको बताए । उनले यस्ता कार्यक्रम सकेसम्म वडा सम्म गरिएको खण्डमा आगलागी नियन्त्रणमा राम्रो प्रभाव पार्ने बताए ।