Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

स्थानीय सरकार संग नागरिकका गुनासै गुनासा


दैलेख  :  नागरिकका जनजीविकाका सवालमा स्थानीय सरकारले ध्यान दिन नसकेको नागरिकले गुनासो गरेका छन् । स्थानीय तहका सरकार गठन भए पश्चात् हाल सम्म पनि नागरिकमा उत्साह नजगाएको,निर्वाचनको बेला गरिएका प्रतिबद्धता पुरा नगरेको,स्थानीय तहमा कार्यकर्ता भर्ती केन्द्र निर्माण गरेको जस्ता गुनासो गरेका छन् । नारायण नगरपालिका र विषयगत कार्यालय बाट प्रवाह गरिएको सेवा सुविधा र प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकले गुनासो गरेका हुन । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकले खानेपानी, सडक, शिक्षा,पुर्बधार विकास ,विद्युत् विकास,बसपार्क सञ्चालन, निःशुल्क धारा वितरण समेत ध्यान नदिएको आरोप लगाएका छन् ।

नारायण नगरपालिका–७ का थीर बहादुर थापाले स्थानीय निर्वाचनको बेला राम्रो नारा दिने र निर्वाचन जितेपछि जनताका सवालमा काम नगर्ने समस्या रहेको बताए । उनले निःशुल्क खानेपानीको धारा जडान गर्ने,खानेपानी महसुलमा मिनाहा गर्ने,नगरपालिकाको मुख्य बजार केन्द्रको सडक विस्तार गर्ने जस्ता योजनाहरू सुरु नभएको भन्दै आक्रोश पाखेका हुन । नारायण नगरपालिका–९ का श्याम थापाले स्थानीय सरकारले जनतालाई उत्साह जगाउनुको साटो निराशा बनाउने गरेको बताए । उनले निर्वाचन कसरी जित्ने र जितेपछि केही नगर्ने समस्या सदाका लागी अन्त्य गर्न नगरपालिकालाई आग्रह गरे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकका गुनासो जवाफ दिँदै नगर प्रमुख लोमन शर्माले निर्वाचनको बेला जनताका बिचमा गरिएका प्रतिबद्धता छिटै कार्यान्वयनको चरणमा जाने बताए । उनले खानेपानी वितरण,निःशुल्क धारा,विद्युत् विस्तार,सडक विस्तारका कामहरू मध्ये सडक विस्तारको काम सुरु भएको बताए । उनले खानेपानी वितरणका लागी सर्वे गरिएको,महसुल मिनाहा लागी तथ्याङ्क संकलन गरेको छिटै लागु गर्ने बताए ।
सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्लामा सञ्चालन भएका राष्ट्रिय गौरवका आयोजनाको तीव्र र गुणस्तरीय विकासका विषयमा सम्बन्धित निकायलाई खबरदारी गरिरहेको बताए । उनले जिल्लाका विकासका लागी नागरिक,पत्रकार,राजनैतिक दल र सरोकारवाला निकायले समेत खबरदारी गर्नु पर्ने बताए ।

नारायण नगरपालिका –६ का वडाध्यक्ष एवम् प्रवक्ता जनक न्यौपानेले सार्वजनिक सुनुवाइ कार्यक्रममा सात बुर्दे प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए । उनका अनुसार जिल्लामा सञ्चालन भएको ठुला विकास पर्बुधारको नियमित अनुगमन,दैलेख बजारको मुख्य सडक विस्तार,सरकारी वा सार्वजनिक जग्गाहरूको संरक्षण,बसपार्क सञ्चालन,विद्युत् नपुगेका वडामा विद्युत् विस्तार,बजार क्षेत्रका सि सी क्यामराको मर्मत सम्भार,सहारे खानेपानीको दिगो सञ्चालन तथा व्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ ।