Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते

दैलेख  :  कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटनामा परेको छ। मंगलबार साँझ राजमार्गअन्तर्गत चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामाघाट नजिकै गाडी दुर्घटनामा परेको हो। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए।

गाडी दुर्घटनामा १३ जना घाइते भएको डीएसपी साहले जानकारी दिए। उक्त गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए। घाइतेहरुको उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको थियो। स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन्।

अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी साहले बताए। गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीको किनारमा खसेको प्रहरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ।