पालिकामै योजना सम्झौता, किसान खुसी
कमल शर्मा
दैलेख : घुम्ती शिविर मार्फत पालिकामै योजनाको सम्झौता हुँदा किसान खुसी भएका छन् । कृषि विकास कार्यालय दैलेखले पालिकामा सञ्चालन हुने योजनामा दोहरोपन,जिल्लामा धाउनु पर्ने बाध्यता अन्त्य गर्दै घुम्ती शिविर मार्फत योजना सम्झौता गरेको हो ।
कृषि विकास कार्यालय दैलेखका प्रमुख घनश्याम कार्कीले किसान वा योजना बाट लाभान्वित किसानलाई घर दैलोमा पुगेर योजना सम्झौताले पारदर्शिता,सुशासन योजना कार्यान्वयन गर्दा हुने विवाद नुहुने र योजना गुणस्तरीय निर्माण गर्न टेवा पुग्ने उद्देश्यले पालीका स्तरमै घुम्ती शिविर आयोजना गरी योजना सम्झौता गरेको बताए । उनले भने गाउँमा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिको खर्च र समय बचत सँगै योजना डुब्लीकेशन हुनबाट निराकरण गर्नेछ ।
सधैँ जिल्ला सदरमुकाम पुगेर योजना सम्झौता गर्दै आएका किसान भने आफ्नै घर आँगनमा पुगेर योजना सम्झौता गर्न पाउँदा खुसी छन् । भगवतीमाई गाउँपालिका –१ पगनाथका श्याम बहादुर थापाले पहिला दुई तीन दिन लगाएर योजना सम्झौता गर्नु पन बाध्यता रहेको बताउँदै पालिकामै योजना सम्झौता हुनु खुसीको कुरा भएको बताए । उनले भने पहुँच भएका नागरिकले योजना बनाउने र आफू अनुकूल उपभोक्ता समिति गठन गर्ने प्रथा अव हट्ने छ ।
कृषि विकास कार्यालयका अर्थ विज्ञ झलक भण्डारीले चालु आर्थिक वर्षमा साना सिचाइका ७३ योजना रहेको बताए । उनले निर्वाचन क्षेत्र २ को आठविस नगरपालिकामा चार ,ठाटीकाँध गाउँपालिका पाँच ,चामुण्डाविन्द्रासैनी नगरपालिकामा तीन ,भैरवी गाउँपालिका ११ वटा र दुल्लु नगरपालिकामा १० योजनाको सम्झौता भएको जानकारी दिए ।
उनका अनुसार निर्वाचन क्षेत्र नं १ नौमुले गाउँपालिका आठ वटा,भगवतीमाई गाउँपालिका चार वटा,गुराँस गाउँपालिकामा एक वटा,डुगेश्वर गाउँपालिकामा दुई वटा,नारायण नगरपालिका दुई वटा र महाबु गाउँपालिका १२ वटा गरी ६२ योजना सम्झौता गरिसकिएको छ । बाँकी योजना केही विवादका कारणले रोकिएको तत्काल विवाद समाधान गरी सम्झौता हुने छन ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले कृषि विकास कार्यालयले पालिकामै पुगेर सिचाई आयोजनाको सम्झौता गर्नु अत्यन्तै राम्रो काम भएको बताए । उनले पालिकाका जनप्रतिनिधि,कर्मचारीको रोहवरमा योजना सम्झौता गर्दा योजनाको गुणस्तरीयता हुने र त्यसको निरन्तर अनुगमन गर्न सहज समेत हुने बताए ।