गृहजिल्लामा सीडीओ बन्न नपाउने
काठमाडौं : कोही पनि कर्मचारी गृहजिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्न नपाउने भएका छन्। गृह मन्त्रालयले यससम्बन्धी व्यवस्था भएको कार्यविधि ल्याएको छ। ‘अधिकृतको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइने छैन’, प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९ मा लेखिएको छ। गृह क्षेत्रमा खटाउँदा स्वार्थ बाझिने भएकाले नखटाउने व्यवस्था गरेको जनाइएको छ। यस्तै, कुनै एक प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा नखटाइने भएको छ। कार्यसम्पादन सम्झौता मूल्यांकनका आधारमा पनि अर्को जिल्लाको जिम्मेवारी दिने÷नदिने भन्ने टुंगो लाग्ने जनाइएको छ।
कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने अन्तिम तीनमा रहेका अधिकृतलाई तत्काल अर्को जिल्लाको जिम्मेवारी नदिइने कार्यविधिमा उल्लेख छ। विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारबाहीको प्रक्रिया नटुंगिएसम्म जिम्मेवारी नदिइने जनाइएको छ।
राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)को सीडीओ रहने पदमा उक्त श्रेणीका कर्मचारी उपलब्ध हुन नसक्ने भए द्वितीय श्रेणी (उपसचिव) लाई पठाइने भएको छ। तर, उक्त पदमा खटाउँदा द्वितीय श्रेणीका अधिकृत भएर पाँच वर्ष कार्यअनुभव हुनुपर्ने भनिएको छ। कार्यविधिले ६१ जिल्लालाई क, ख र ग गरी तीन समूहमा वर्गीकरण गरेको छ। प्रमथ श्रेणीको सीडीयो एक वर्षको अवधिसम्म एउटा जिल्लामा काम गर्न सक्नेछन्। २०७९ वैशाख १ गतेअघि खटाइएकाहरूको हकमा अन्यत्र कामकाजमा खटाउन बाधा नपर्ने कार्यविधिमा उल्लेख छ।