Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या


मुगु :  हवाई सेवाको मेरुदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चास्थित रारा विमानस्थलमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। सम्झौताअनुसार आव ०७८र७९ मै निर्माण भइसक्नुपर्ने भए पनि हालसम्म निर्माणको सुरसारै नभएको सरोकारवाला बताउँछन्।

ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो। २०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको ताल्चा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरे पनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।

ओमबद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्न २०७६ साल असोज १६ मा ३० महिनाभित्र ८ करोड ६५ लाख ९ हजार ९९४ रूपैयाँ लागतमा काम सम्पन्न गर्छु भन्दै काममा हात हालेको थियो।

नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार ताकेता गरे पनि आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ।

रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले सेवा प्रवाहमा समस्या भएको बताए। ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम गरिरहनु परेको उनले बताए। सामान्य हावा हुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्या भएको उनले बताए।

ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए ।