को हुन् कर्णालीको मुख्यमन्त्री शर्मा
सुर्खेत : १० कक्षा पढेर पनि राजनीतिमा अविराम लागेका रुकुम पश्चिमका नेता राजकुमार शर्मा (आर्ट) पहिलो प्रयासमै सांसद र कर्णालीको मुख्यमन्त्री बनेका छन् । २०२८ साल भदौ १८ गते चौरजहारी नगरपालिका—१४ साक्च, रुकुम पश्चिममा जन्मेका हुन् । बुधबार पुस २७ गते प्रदेश प्रमुख तिलक परियारबाट शर्माले मुख्यमन्त्रीमा नियुक्त भएको पत्र बुझेका हुन् । नेकपा एमालेको समर्थनमा आलोपालोसहित मुख्यमन्त्री बन्न शर्माले दाबी पेश गरेका थिए ।
एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसदको बलमा उनी मुख्यमन्त्री हुँदा धेरै विषय सतहमा आएका छन् । कर्णालीको विकास गर्ने नक्सा साथमै बोकेर हिडेको दाबी गर्ने मुख्यमन्त्री शर्माको शैक्षिक योग्यता केवल १० कक्षा मात्रै हो । त्यो पनि उनले एसएलसी पास गर्न सकेका थिएनन् । संसदीय राजनीतिमा प्रवेश नगरेका उनी पहिलो पटकमै सांसददेखि मुख्यमन्त्री बन्न सफल भएका छन् । यसपछाडिको राज रुकुम पश्चिमका माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा हुन् ।
माओवादी केन्द्रका केन्द्रीय उपमहासचिवसमेत रहेका शर्मा कर्णालीको राजनीतिमा हावी हुँदै आएका छन् । यसअघि कर्णालीको पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि जनार्दनकै प्रभावका कारण बनेका थिए । त्यतिबेला नरेश भण्डारी र यामलाल कँडेललाई पछि पार्दै जनार्दनले महेन्द्रलाई कर्णालीको पहिलो मुख्यमन्त्रीको कुर्सीमा बसालेका थिए । यसपटक पनि पार्टीमा शक्ति बस्नेत गुट र केन्द्रीय राजनीतिमा ओली र प्रचण्डबीच कर्णालीको मुख्यमन्त्रीमा पाँच वर्षकै नेतृत्व सुनिश्चित गरेर आफ्नै जिल्लाका राजकुमार शर्मालाई उनले मुख्यमन्त्री बनाए ।
तर प्रदेशमा एमाले र माओवादीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यद्यपी त्यो सहमति कार्यान्वयन हुनेमा विभिन्न शंका र उपशंका छन् ।
विद्यार्थी राजनीतिदेखि जनयुद्ध र संसदीय राजनीतिक यात्रा
राजकुमार शर्मा २०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको विद्यार्थी राजनीतिमा होमिएका हुन् । विद्यार्थी राजनीतिमा लागेपछि उनी त्यतिबेलाको पञ्चायत र राजतन्त्रकै विरुद्धमा चर्को स्वर गर्ने युवा थिए । विद्यार्थी राजनीतिकै कारण उनले पढाई पूरा गर्न पाएनन् । २०५० सालमा भने उनी माओवादी जनयुद्धमा मिसिए । त्यतिबेला गाउँ गाउँमा जनयुद्धको लहर चलेका बेला उनी पनि त्यो अभियानमा होमिएका थिए । त्यसका लागि उनी रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको अभियानमा पुगेका थिए ।
०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएका उनी ०४६ सालमा मोटो मशालको पार्टी सदस्यता लिन सफल भएका थिए । त्यसपछि उनी ०४७ सालदेखि पुर्णकालिन रुपमा राजनीतिमा होमिएका उनीनिकट नेताहरु बताउँछन् । २०४८ सालपछि उनी पार्टी विभाजन हुँदा उनले पनि विद्रोहकै बाटो रोजेका थिए ।
जनयुद्धको लडाई मोर्चा
जनयुद्धमा होमिएपछि उनी सेनाकै तयारीमा लागेका थिए । स्थानीय जङगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार पार्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
२०५२ साल फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कव्जा गर्नमा शर्माको भूमिका मुख्य थियो । उनकै निर्देशनमा त्यो प्रहरी चौकी कब्जा गरेर माओवादीले आफ्नो प्रभाव विस्तार गरेको थियो ।
त्यसको अर्को वर्ष उनले डोल्पाको त्रिवेणी चौकीमा आक्रमण गरेका थिए । त्यो लडाईमा उनी आफै कमाण्डर भएर पुगेका थिए । यद्यपी लडाईको मोर्चाको कमाण्डर दौलतराम घर्ती ९विजय० थिए । सो लडाईमा विजयको मृत्यु भएको थियो ।
२०५४ सालदेखि उनी कर्णाली क्षेत्रको नेतृत्वमा आएका थिए । जनयुद्धमा कर्णाली माओवादी विद्रोहको आधार इलाका हो । त्यसबेला उनले जुम्ला, कालिकोट, दैलेख लगायत क्षेत्रमा जिल्ला नेतृत्व गर्दै माओवादी विद्रोहका लागि अनुकुल वातावरण बनाउँदै विभिन्न चौकी कब्जा गर्न ठूलो भूमिका खेलेका थिए । जहाँ पुगेपछि प्रभावकारी भूमिका निर्वाह गर्ने उनी माओवादी शान्तिवार्तामा पुगेपछि भने एकपटक काठमाडौँमा केन्द्रीय प्रचार विभागमा पनि काम गरेका थिए ।
कर्णालीमा माओवादीको शाख बचाउने चुनौति
पाँच वर्षअघि धेरै माओवादी नेताहरु संघीय र प्रदेश सांसद भएर संसदीय यात्रामा लाग्दा उनी भने रुकुम पश्चिमको जिल्ला समन्वय समितिको अध्यक्ष भएका थिए । गएको महाधिवेशनमा माओवादी केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य भएका उनले रुकुम पश्चिमको इन्चार्जको जिम्मेवारी पनि पाएका थिए । तर उनले त्यो जिम्मेवारीलाई सही सावित गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने ऐतिहासिक अवसर पाएका छन् । कर्णाली विकासको नक्सा कोरिसकेको दाबी गर्ने मुख्यमन्त्री शर्मालाई पछिल्लो समय माओवादीको खस्किदै गएको शाख बचाउने चुनौति पनि छ ।
पाँच वर्षअघि कर्णालीको सत्तामा रहेको माओवादीले आफ्ना सबै सांसदलाई मन्त्री बनाएको थियो । अहिले पनि त्यही क्रम दोहोर्याउँछ वा केही नयाँ गर्छ रु त्यो हेर्न बाँकी छ । तर खस्किदो माओवादीको शाख बचाउन उनले कुनै नयाँ उपाय लगाउँछन् वा जनार्दनकै शैली पछ्याएर केवल आफ्नो गुट बलियो बनाउँछन् रु त्यो पनि चाँसोका साथ हेरिएको छ ।साभार