Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

स्थानीय पाठ्यक्रम हाम्रो नारायण नगरपालिका विमोचन


दैलेख  :  नारायण नगरपालिकाले आधारभूत तह(१–८) को स्थानीय पाठ्यक्रम हाम्रो नारायण नगरपालिका विमोचन गरिएको छ । बुधवार नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्मा र उप प्रमुख तप्ता कुमारी थापाले आधारभूत तह(१–८)को स्थानीय पाठ्यक्रम हाम्रो नारायण नगरपालिका विमोचन गरेका हुन । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वका विषयहरू, परम्परागत खाना, उत्पादन, परम्परागत पहिरन, आफ्ना वरपर रहेका वस्तुहरूको विश्लेषण र जानकारीसहितको पाठ्यक्रम निर्माण गरेर विमोचन गरिएको बताए ।

उनले नगरपालिको निर्माण गरेको हाम्रो नारायण नगरपालिका स्थानीय पाठ्यक्रम आउने शैक्षिक सत्र बाट सुरु हुने बताए । विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषयहरू समावेश गरिएको छ नगर प्रमुख शर्माले भने हाम्रो पाठ्यक्रम लागु गरेपश्चात् यहाँका बालबालिकाले नगरपालिकाका विविध विषयमा जानकारी पाउनेछ ।

नगर उपप्रमुख तप्ता कुमारी थापाले शैक्षिक क्षेत्रमा स्थानीय विषयलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय पाठ्यक्रमका अलावा बालबालिकालाई पर्न सक्ने अन्य समस्याहरू समाधानका लागि पनि नगरपालिकाले प्रभावकारी काम गरेको बताइन । उनले शिक्षकहरूको समूह निर्माण गरी विज्ञहरूसँग विभिन्न विषयमा छलफल र बहस गरेर स्थानीय पाठ्यक्रम तयार गरिएको बताइन ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि जीवराज तिमिल्सिनाको संयोजकत्वमा नगरपालिकाभित्रका सबै तहका शिक्षकहरूको समिति निर्माण गरिएको थियो ।

समितिका संयोजक जीवराज तिमिल्सेनाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा त्रिभुवन विश्वविद्यालय र शैक्षिक क्षेत्रका विज्ञको सहयोगमा पाठ्यक्रम निर्माण गरिएको बताए । उनले पाठ्यक्रम निर्माण भए पनि पाठ्य बस्तु निर्माण गर्दा पुन सरोकारवाला निकाय सँग समन्वय गर्ने बताए ।

मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले आफ्नै ‘पाठ्यक्रम’ निर्माण गरी लागु गर्ने संवैधानिक व्यवस्था अनुसार नारायण नगरपालिकाले आधारभूत ‘पाठ्यक्रम’ निर्माण गरेको नारायण नगरपालिकाले जानकारी दिएको छ । विद्यार्थीहरूलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषयहरूको समावेश गरिएको बताइएको छ ।

जिल्लाका नागरिक समाज र पत्रकारले स्थानीय पाठ्यक्रम निर्माण गर्दा नगरपालिका भित्र रहेको ऐतिहासिक पुरातात्त्विक र धार्मिक कुरालाई समेत समेट्न सुझाव दिएका छन् ।