मृतकका परिवारलाई गाउँपालिकाको सहयोग
दैलेख : जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–४ खान्तीजेवा भीरबाटीमा जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले सहयोग गरेको छ । जिल्लाको भगवतीमाई गाउँपालिकाले दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका गरी १२ जनालाई जनही १५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले मृतकका आफन्तलाई क्रिया खर्च वापत प्रतिजना १५ हजारले सहयोग गरेको बताए । उनले गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई क्रियाखर्च दिने निर्णय अनुसार उक्त रकम सहयोग गरिएको बताए । उनले भने गाउँपालिकाको टोली छेडागाड नगरपालिकामै पुगेर मृतकका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरेका छौ ।
मंङसिर २६ गते भगवतिमाई गाउँपालिका –३ मेहेल्तोली बाट छेडागाड नगरपालिका–४ खान्तीजेवा सम्म जन्ती लिएर गएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा चालक सहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा दैलेख भगवतिमाई गाउँपालिका–२ का मान बहादुर रावत, –३ का अम्मर खड्का र बिरेन्द्र केसी जाजरकोट छेडागाड नगरपालिका –५ का दिपक अधिकारी,नैनसरा अधिकारी,निशा अधिकारी,अमर अधिकारी,जयकुवारा बुढा,देबीसरा बुढा,रामबहादुर बुढा,–६ का बीर बहादुर खत्री र जयलाल अधिकारी रहेका छन । बोलेरो जीप दुर्घटना के कारणले भएको भन्ने अहिले सम्म खुल्न सकेको छैन ।