Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङबाट शुभारम्भ

दाङ  :  लुम्बिनी प्रदेश सरकारले प्रशासनिक काम प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङबाट शुभारम्भ गरेको छ। एक साताअघि अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयहरू सारिएको थियो।राजधानीको निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न स्थायी राजधानीमा प्रदेश मुख्यालयसहितका मन्त्रालयहरू ल्याइएको र कार्यान्यन पनि सुरु भएको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए। बुधबार विधिवतरूपमा स्थायी राजधानीबाट सेवा शुभारम्भ गरिएको छ।

प्रमुख सचिव डा दीपक काफ्लेले अव स्थायी राजधानीबाट प्रदेशको प्रशासन सञ्चालन सुरु भएको बताए। उनले बुधबारदेखि नै प्रदेशको प्रशासन सुरु भएको भन्दै अब सबै काम यतैबाट सञ्चालन हुने जानकारी दिए। अहिले प्रदेश राजधानी स्थलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय पूर्णरूपमा सञ्चालनमा रहेका छन् भने अन्य मन्त्रालयको पूर्वाधार मर्मतको काम अन्तिम चरणमा पुगेको छ। अबको एक महिनाभित्र सबै मन्त्रालय राप्ती उपत्यकामा रहने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

औपचारिकरूपमा उदघाटन समारोह गरी झण्डोत्तोलन गर्दै राप्ती उपत्यकाबाट प्रदेश सरकारले नियमित काम सुरुवात गरेको हो। प्रदेशले दुई तिहाई बहुमतबाट तय गरेको स्थायी राजधानी २ वर्ष २ महिनापछि पूर्णरूपमा कार्यान्वयनमा आएको हो। राजधानीको शुभारम्भ गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राजधानीको निर्णय कार्यान्वयनमा आएको बताए। उनले राजधानी कार्यान्वयनसँगै पछाडि परेको देउखुरी क्षेत्रको विकासलाई समेत गति दिने विश्वास गरे। उनले दाङमा आधुनिक राजधानी बन्ने बताए।