कर्णालीमा घटे १९५ मानवअधिकार हनन्का घटना
सुर्खेत : कर्णाली प्रदेशभर आर्थिक वर्ष २०७८/२०७९ मा मानवअधिकार हननसम्बन्धी १९५ घटना घटेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको कर्णाली प्रदेश कार्यालयले ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०७९ का अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा प्रदेशभर मानव अधिकार हननसम्बन्धी घटना सबैभन्दा बढी हुम्लामा भएको उल्लेख छ ।
आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा हुम्लामा सबैभन्दा बढी ३३ र डोल्पामा सबैभन्दा कम ५ वटा मानवअधिकार हननसम्बन्धी उजुरी परेका छन् । यस्तै कालीकोटमा १४, जाजरकोट १७, जुम्ला ३२, दैलेखमा १७, मुगुमा १४, रुकुम पश्चिममा १४, सल्यानमा २३, सुर्खेतमा २५ वटा मानवअधिकार हननसम्बन्धी उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशभर परेका उजुरीमध्ये सबैभन्दा बढी ८४ वटा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार १९६६ सँग सम्बन्धित रहेका छन् भने, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता १९६६ सँग सम्बन्धित ५५ वटा उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सबै किसिमका जातीय भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि १९६५ सँग सम्बन्धित १, यातना तथा अन्य कुर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि १९८४ सँग सम्बन्धित ४ वटा घटना घटेका छन् । यस्तै महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मुलन गर्ने महासन्धि १९७९ सँग सम्बन्धित २५, बालअधिकार महासन्धि १९८९ सँग सम्बन्धित १६, आप्रवासी कामदारहरू तथा तिनीहरूको परिवारका सदस्यहरूको अधिकारको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९९० सँग सम्बन्धित १ वटा घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोगमा दर्ता भएका उजुरीमध्ये ३७ वटा उजुरी उपर अनुसन्धान सम्पन्न भएको छ । जिल्लागत परेका उजुरी उपर अनुसन्धान सबैभन्दा बढी जुम्लामा भएको छ । जुम्लामा जम्मा परेका उजुरीमध्ये २१ थान मुद्दा उपर आयोगले अनुसन्धान भई फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाएको छ । यस्तै दोस्रोमा कालीकोटका ९ थान उजुरी उपर अनुसन्धान सम्पन्न भएको छ । आयोगले अनुसन्धान गरी आवश्यक कारबाहीका लागि सिफारिस गरी पठाएका जिल्लागत मुद्दाहरूमा सुर्खेतका ३, दैलेखका २, मुगुका १ र जाजरकोटका १ थान मुद्दा रहेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश प्रमुख लोकनाथ बास्तोलाले मानव अधिकारका क्षेत्रमा आयोग गम्भीर भएर लागेको बताए । आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख बास्तोलाले कर्णालीभर १ सय ९५ वटा मानव अधिकार हनन्का घटना घटेको उल्लेख गरेका थिए।साभार नेपाली रैवार