Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

पेनाल्टीमा शुटआउट बाट रोकियो जापानको यात्रा

जापानलाई पेनाल्टी शुटआवटमा हराएपछि खुसी हुदै क्रोसियाका खेलाडी

दोहा  :  अल वक्रस्थित अल जनोब रंगशालामा २ घण्टा ७ मिनेट कडा चुनौती दिएर पनि पेनाल्टी शुटआउटमा फितलो प्रदर्शन गरेपछि सोमबार जापानको विश्वकप फुटबलमा पहिलोपल्ट क्वाटरफाइनल पुग्ने सपना तुहाउँदै क्रोएसिया अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट, अतिरिक्त ३० मिनेट र इन्ज्युरीको ७ मिनेट गरी १ सय २७ मिनेट चलेको प्रतिस्पर्धा १–१ को बराबरीपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रकेरमा २७ वर्षीय गोलकिपर डोमिनिक लिभाकोभिचले जापानका तीन खेलाडीको प्रहार रोक्दै क्रोएसियालाई क्वाटरफाइनलमा डोर्‍याएका हुन् । लिभाकोभिचको बचाउ राम्रो रह्यो, जसले चार वर्षअघिको उपविजेता क्रोएसियालाई जित दिलाए । उनले असफल पारिदिएका ताकुमी मिनामिनो, काउरो मितोमाको र कप्तान माया योसिदाको प्रहार पनि फितलो रह्यो । तेस्रो प्रहारमा आएका ताकुमा आसानोमात्रै सफल भए ।

निकोला भ्लासिच र मार्सेलो ब्रोजोभिचले सटिक प्रहार गरेपछि मार्को लिभाजाले बल पोलमा हाने पनि क्रोएसिया २–१ ले अघि बढिसकेको थियो । लिभाकोभिचले योसिडालाई रोकेपछि मारियो पासालिचले सहजै बल जाली चुमाउँदै टाइब्रेकरमा ३–१ को जितसहित क्रोएसियालाई अन्तिम आठमा पुर्‍याए । जापानी गोलकिपर सुइची गोन्डाले पेनाल्टीमा केही गर्न सकेनन् । जर्मनी र अर्जेन्टिनापछि विश्वकपमा लगातार तीनपल्ट टाइब्रकेरमा जित हासिल गर्ने क्रोएसिया पहिलो टिम बन्यो ।

क्रोएसियाले रुसमा सन् २०१८ मा टाइब्रेकरमा दुई खेल जितेको थियो, जहाँ अन्तिम १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसलाई सिकार बनाएको हो । त्यहाँ इंग्ल्यान्डलाई अतिरिक्त समयमा हराएर फाइनल पुगेको लुका मोड्रिचको टिम उपाधि होडमा फ्रान्ससँग ४–२ ले हारेको थियो ।
जापानले टिममा तीन खेलाडी परिवर्तन गर्‍यो । जर्मनी र स्पेनविरुद्ध समान २–१ ले जितेको खेलमा एक–एक गोल गरेका रित्सु डोआनसहित आर्सनलका डिफेन्डर ताकेसिरो तोमियासु र मिडफिल्डर वातारी इन्डो पहिलो रोजाइमा उत्रिए । प्रशिक्षक हाजिमे मोरियासुले युरोपेली लिगका आठ र घरेलु प्रतियोगिता जे लिगका तीन खेलाडीलाई अवसर दिएका थिए । पहिलो हाफमा राम्रो खेल्यो ।

अगाडि बढ्ने पहिलो अवसर भने क्रोएसियाले पायो । डिफेन्सको गल्तीमा आठौं मिनेटमा पाएको अवसरमा इभान पेरिसिचले प्रहार गरेको बल गोलकिपर सुइची गोन्डाले रोकिदिए । प्रतियोगितामा दुई गोल गरेका आन्द्रेज क्रामारिकले त्यही रिबाउन्डमा प्राप्त बल राम्ररी नियन्त्रण गर्न नसक्दा प्रहार गर्न सकेनन् र अग्रता लिने अर्को अवसर गुमायो । उनलाई जापानी डिफेन्सले घेरा हालेर बल कब्जामा लियो ।

जुनया इतोको क्रसलाई दाइजेन मायदा र युतो नागातोमोले सिक्स यार्ड बक्सबाट प्रहार गर्न नसक्दा जापानले पनि १३ औं मिनेटमा गोलको खाता खोल्ने मौका चुकायो । बेल्जिमविरुद्ध उत्रिएको टिममा दुई खेलाडी परिवर्तन गरेको क्रोएसियाले बोर्ना बारिसिचको क्रसमा इभान पेरिसिचले हेडर बललाई क्रामारिकले छोएको भए लात्को डालिचको टिम अगाडि बढ्न सक्थ्यो ।

कर्नरको मुभमा डोआनले क्रस गरेको बल डिफेन्सले फर्काइदिए । त्यसैमा कप्तान माया योसिदामार्फत् आएको बललाई मायदाले तुरुन्तै प्रहार गर्दै ४३ औं मिनेटमा जापानलाई १–० को अग्रता दिलाए । यो विश्वकपमा जापानले पहिलोपल्ट अग्रता लिएको हो । उसले समूह चरणमा पछाडि परेको स्थिति उल्टाउँदै जर्मनी र स्पेनमाथि सनसनीपूर्ण जित निकालेको थियो । दोस्रो हाफको सुरुमै पेनाल्टी क्षेत्रबाहिरैबाट दाइची कामदाले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो ।

पहिलो हाफमा निकै चनाखो देखिएको जापानले राम्रो खेल्यो । रुस संस्करणको गोल्डेन बल र बालोन डी’अर अवार्ड २०१८ विजेता मोड्रिचको टिमलाई दबाबमा राख्यो । तर, दोस्रो हाफमा अनुभवी खेलाडीको आक्रामण जापानले थेग्न सकेन । मस्कोस्थित लुज्निस्की रंगशालामा एक गोल गरेका इभान पेरिसिचले ५५ औं मिनेटमा उत्कृष्ट हेडर गोल गर्दै खेल १–१ को बराबरी गरे । डेजान लोभरेनको क्रसमा पेरिसिचको हेडरमा लोभलाग्दो गोल निस्किएपछि क्रोएसिया थप बलियो बन्यो ।

इन्डोले ५७ औं मिनेटमा प्रहार गरेको बल किपर लिभाकोभिचले उत्कृष्ट रूपमा बाहिर फाल्दै क्रोएसियाको संकट टारिदिए । मोड्रिचले ६३ औं मिनेटमा प्रहार गरेको बललाई गोलकिपर सुइची गोन्डाले जोगाए । काउरो मितोमाको चलाखीपूर्ण पासमा पेनाल्टी क्षेत्रमा अनमार्क ताकेहिरो तोमियासुले समयमै बल प्रहार गरेको भए जापान ऐतिहासिक उपलब्धिमा पुग्ने थियो । तर, ८१ औं मिनेटको त्यो अवसरमा तोमियासुले ढिलाइ गरे ।

मितोमाले १०५ औं मिनेटमा उत्कृष्ट रूपमा प्रहार गरेको बल पनि लिभाकोभिचले रोकिदिए । प्लेमेकर मोड्रिचले ९९ औं मिनेटमा मैदान छाडे पनि क्रोएसियाले मिहिनेत जारी राख्दै टाइब्रकेरमा जित निकाल्यो । विश्व फुटबलको महाकुम्भमा सन् १९९८ यता लगातार सहभागी जापानको चुनौती तेस्रोपल्ट अन्तिम १६ मा समाप्त भएको हो । यसअघि सहआयोजक छँदा २००२, दक्षिण अफ्रिका २०१० र रुस ९२०१८० मा पनि जापान नकआउटको पहिलो खेलमै हारेको थियो ।साभार कान्तीपूर