Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

सातवटा दलले पाए राष्ट्रिय पार्टीको मान्यता

काठमाडौँ  :  निर्वाचन आयोगले हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराए।

आयोगले ४ दिन भित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान समेत गरेको छ। दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्द सूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन। त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्द सूचीमा पेश गरेका नामावलीको क्रमसंख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन्। त्यसो गर्दा एक तिहाइ महिलाको संख्या भने राजनीतिक दलहरूले पठाउनैपर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए।

यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्म निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्। शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षानिकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण काम मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन्।

थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गरे। उनले आफूहरू वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताए।