Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

१७ जना उम्मेदवारको जमानत जफत


दैलेख  :  मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएका १७ जना उम्मेदवारको जमानत जफत भएको छ । दैलेखका दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचन क्षेत्रका १७ जना उम्मेदवारको जमानत जफत भएको जनाइएको छ । दैलेख–१ मा प्रतिनिधिसभातर्फका ८ जना उम्मेदवार मध्ये पाँच जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा मजदुर किसान पार्टीको तर्फका उम्मेदवार प्रकाश गुरुङ, नेपाली काँग्रेस (बिपीका) भूपालबहादुर थापा, स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र एमालेबाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका गोपाल नेपाली र सत्ता गठबन्धन बाट विद्रोह गरेका निरख बहादुर थापा रहेका छन ।

नेपाल मजदुर किसान पार्टीका मजदुरका प्रकाश गुरुङले ७ सय मत कटाउन नसक्दा जमानत जफत भएको छ । गुरुङले ६ सय ९८ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस बिपीका भूपालबहादुर थापाले ६६ मत प्राप्त गरेका छन । दैलेख–१ प्रतिनिधिसभातर्फ जमानत जफत भएका पाँच जना मध्ये स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३ सय ८७ मत प्राप्त गर्दै जमानत जोगाउनबाट चुकेका छन । एमालेबाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका गोपाल नेपालीले २ सय १० मत प्राप्त गर्दै जनमत जोगाउन सकेनन । अर्का स्वतन्त्र उम्मेदवार निरख बहादुर थापाको समेत जमानत जफत भएको छ । उहाँले १०६ मत प्राप्त गरेका छन ।

यस्तै प्र्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनेका पाँच जना मध्ये तीन जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारी र (राप्रपा)का लोकेन्द्रराज गिरी र मजदुरका केशेन्द्रप्रकाश कार्कीको जमानत जफत भएको हो । स्वतन्त्र पार्टीका भण्डारीले ७ सय १३,राप्रपाका लोकेन्द्र गिरीले ४ सय ८८ र मजदुरका कार्कीले ३ हजार ८४ मत प्राप्त गरे पनि जमानत जोगाउन सकेनन ।
चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । दैलेख–१ अन्तर्गतका २ वटा प्रदेशसभामा उम्मेदवार बनेका ६ जना र दैलेख–२ अन्तर्गतका २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ५ जना गरी ११ जना उम्मेदवारको जमानत जफत भएको हो । दैलेख–१ प्रदेशसभा (क) मा जमानत जोगाउन नसक्नेहरूमा (राप्रपा)का हृदयजंग शाही, एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका चित्रबहादुर खत्री र मजदुरका जगबहादुर ओली रहेका छन । राप्रपाका शाहीले एक हजार ८१ मत प्राप्त गरेका छन । मजदुरका ओलीले पाँच सय १६ र स्वतन्त्र खत्रीले २ सय मत मात्र पाएका छन ।

दैलेख–१ प्रदेशसभा (ख) मा उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ । (राप्रपा)का रणबहादुर सिंह, स्वतन्त्र उम्मेदवार टेकबहादुर खाँण र मजदुरका लक्ष्मीकुमारी सिंहले जमानत जोगाउन सकेनन । (राप्रपा)का रणबहादुर सिंहले १ हजार ६०४ मत प्राप्त गरेका छन । स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले ४०६ र मजदुरका लक्ष्मीकुमारी सिंहले २०२ मत प्राप्त गरेका छन ।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नः प्रदेशसभा (क) मा चार जना र प्रदेशसभा (ख) मा एक जना गरी पाँच जना उम्मेदवारको जमानत जफत भएको हो । प्रदेशसभा (क) मा लौरो चुनाव चिन्हका प्रेमबहादुर भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, मजदुरका मदनकुमार भण्डारी र स्वतन्त्र उम्मेदवार पुरुषोतम रिजालको जमानत जफत भएको छ । लौरोका प्रेमबहादुर भण्डारीले ४ सय ७२ मत प्राप्त गरेका छन् ।

राप्रपाका यज्ञबहादुर थापाले ४ सय ६८, मजदुरका मदनकुमार भण्डारीले ३ सय ३७ र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले २ सय ७० मत प्राप्त गरेका छन । यस्तै, दैलेख–२ प्रदेशसभा (ख) मा उम्मेदवार बनेका १ जना उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीको जमानत जफत भएको हो । उनले ९ सय १८ मत मात्र प्राप्त गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।