२४ सिटमा चार जना मात्रै पुराना अनुहार दोहोरिए, २० नयाँ अनुहार
सुर्खेत : २४ सिटमा चार जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । त्यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र मन्त्रीहरू मात्रै रहेका छन् । मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट निर्वाचित भएर दोहोरिएका छन् । मुख्यमन्त्री शाहीले एमालेका छक्कबहादुर लामालाई हराएका हुन् । लामा यसअघिका प्रतिनिधिसभा सदस्यसमेत थिए । त्यसबाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (क) बाट वीरबहादुर शाही र सुर्खेत २ (ख) बाट माओवादीका विन्दमान विष्ट रहेका छन् । एमालेका संसदीय दलका नेतासमेत रहेका एमालेका यामलाल कँडेल सुर्खेत २ (क) बाट निर्वाचित भएका छन् । अघिल्लो कार्यकालका सांसदहरू पनि पराजित भएका छन् । ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी दोहोरिने प्रयासमा थिए । उनीहरू पनि पराजित भएका छन् ।
कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने २० जना रहेका छन् । सुर्खेत १ (क) बाट कांग्रेसका खड्ग पोखरेल पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दैछन् । उनी एमालेका निर्वमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका हुन् । यस्तै, १ (ख) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरेका छन् । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुखसमेत रहेका घनश्याम भण्डारी पनि पहिलोपटक प्रदेशसभामा प्रवेश गर्दैछन् । राजनीतिमा आउनुअघि पत्रकारसमेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (क) मा पराजित गरेका हुन् । दैलेख २ (ख) मा एमालेका विनोदकुमार शाह विजयी भएका छन् ।
शाहले केही समयअघि एमाले छोडेका पूर्व सहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरेका हुन् । यस्तै, दैलेख १ (कं बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन् । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरेका छन् । सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् ।
शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (ख) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजंग शाहलाई पराजित गरेका छन् । रुकुम पश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सांसद निर्वाचित भएका छन् । रुकुम पश्चिम प्रदेशसभा (क) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरेका छन् । यस्तै (ख) मा भावी मुख्यमन्त्रीका दाबेदार राजकुमार शर्मा विजयी भएका छन् । शर्माले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा (क) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भएका छन् । प्रदेश (ख) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।
कालीकोट प्रदेशसभा (क) बाट माओवादीका दुर्गबहादुर रावत विजयी भएका छन् । रावत यसअघिका प्रतिनिधिसभा सदस्यसमेत हुन् । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका छन् । कालीकोट प्रदेशसभा (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । विष्टले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका छन् । डोल्पा प्रदेशसभा (क) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।
हुम्ला प्रदेशसभा (क) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी सवतन्त्रका मंगलबहादुर शाही पराजित भए । यस्तै मुगु (क) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (ख) मा माओवादीका मंगलबहादुर शाही पनि विजयी भएका छन् । शाहीले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् । यस्तै, जुम्ला प्रदेशसभा (क) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भएका छन् । देवेन्द्रले कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेका छन् । यस्तै जुम्ला (ख) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।साभार नेपलीरैवार