प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म : ओली
काठमाडौँ : एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । उनले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको बताएका छन् ।
महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो ।
एमाले अध्यक्ष ओलीले शनिबार सामाजिक संजाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवामाथि प्रश्न उठाएका हुन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्, ओलीले देउवालाई सोधेका छन्, घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ।