सूर्यग्रहण नेपालको सबै भूभागबाट देख्न सकिने
काठमाडौं : आउने मंगलबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन ।
काठमाडौंबाट अवलोकन हुने सूर्यको ३७.७ प्रतिशत भाग मात्र ग्रहण लागेको देख्न सकिने अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा। सनतकुमार शर्माले बताउनुभयो । यो खण्डग्रास सूर्यग्रहण हेर्दा केही राशीलाई राम्रो हुने, केही राशिलाई नराम्रो हुनेजस्ता कुराहरु बाहिर आए पनि वैज्ञानिक रुपमा यो सत्य छैन ।
नेपालमा कात्तिक ८ गते मंगलबार साँझ ४ः५३ बाट खण्डग्रास सूर्यग्रहण लाग्नेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने बताइएकोछ । नेपालमा करिब ३३ मिनेट मात्र ग्रहण देखिने शर्माले बताउनुभयो ।