Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

 

दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना निर्वाचन आचारसंहिता पालना सम्बन्धी उम्मेदवारहरू सँग गरेको अन्तरक्रिया कार्यक्रम उम्मेदवारहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत बलराम लम्सालले निर्वाचनमा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता कार्यान्वयन भएको हुनुपर्ने बताए । उनले भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता उलङ्घन भएको उजुरी नपरेको खण्डमा मात्र आचारसंहिता पालना गरेको हुनेछ ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले निर्वाचन आचारसहिता पालना नगरेको खण्डमा कानुन बमोजीम कार्वाही हुने बताए । उनले निर्वाचनको अवधीमा राजनैतिकदलहरुले आफुले गर्ने कार्यक्रम र ठाउँका विषयमा समेत जिल्ला प्रशासन कार्यालय बाट अनुमती मागेर मात्र कार्यक्रम संचालन गर्न आग्रह गरे ।

नेकपा एमाले बाट प्रतिनिधि सभा उम्मेदवार रबन्द्रिराज शर्माले निर्वाचन आचारसंहिता पालना गर्न आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताए । उनले निर्वाचन आचारसंहिता पालना गरी निर्वाचनलाई स्वच्छ निष्पक्ष धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनको बेला हुने आमसभा कार्यक्रममा बालबालिकाहरूको प्रयोग गर्ने निर्वाचन आयोगको आचारसंहिता राम्रो भए पनि हेर्न रहरका कारण बालबालिका कार्यक्रममा सहभागी हुने कुरालाई सहजीकरण गरिदिनुपर्ने बताए ।

सत्तागठबन्ध बाट प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले निर्वाचनमा हुने आमसभा हेर्न बालबालिका भन्दा पनि कुनै दलले बालबालिकालाई झन्डा समातेर प्रचार प्रसार गर्न नहुने बताए । उनले भने जिल्लामा रहेका राजनैतिक दल र उम्मेदवार दुवैले त्यस्तो गर्दैनौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय महामन्त्री एवम् दैलेख निर्वाचन क्षेत्र नः १ बाट प्रतिनिधि सभा उम्मेदवार कुन्ती कुमारी शाहीले निर्वाचन आचारसंहिता ठुला साना दल सबैलाई बराबर लागु हुनुपर्ने बताइन । उनले ठुलो दलले आचारसंहिता पालना गरेको खण्डमा अन्य दलले समेत आचारसंहिता पालना गर्ने बताइन ।

जिल्लामा रहेका क्रियाशील पत्रकाहरुले समेत निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवार र राजनैतिक दललाई सुझाव दिएका छन् । नेपाल फोटो पत्रकार महासङ्घका केन्द्रीय सचिव विशाल सुनारले निर्वाचनमा राजनैतिक दल र उम्मेदवारले आचारसंहिता अक्षरशः पालना गर्नु पर्ने बताए । उनले विगतमा राजनैतिक दलका कार्यक्रममा बालबालिका प्रयोग हुने गरेको बताउँदै यो निर्वाचनमा बालबालिका प्रयोग नगर्ने राजनैतिक दल र उम्मेदवारले सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गर्नु पर्ने बताए । उनले भने सबै राजनैतिक दल र उम्मेदवारहरुले कार्यक्रममा बालबालिका नल्याउने भनेर सबै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको खण्डमा बालबालिकाको प्रयोग स्वत कम हुन्छ । दैलेखमा रहेका दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभामा स्वतन्त्र सहित ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।