Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राउटेले पाए सामाजिक सुरक्षाभत्ता


दैलेख :  कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेको राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका एक सय ४४ जनालाई शुक्रवार गुराँस गाउँपालिका –८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । दसैँ अगाडी नै सामाजिक सुरक्षा भत्ता पाउने आसमा रहेको राउटेले दसैँ सकिएपछि मात्र भत्ता प्राप्त गरेका हुन ।

गुराँस गाउँपालिका –८ का वडा सचिव सुस्मिता खड्काले साउन,भदौ,असोज तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताइन । उनले दसैँ अघि नै राउटेलाई भत्ता वितरण गर्ने भए पनि दशैको अन्तिम दिन मात्र वडामा बजेट आएपछि भत्ता वितरण गर्न ढिला भएको बताइन । दशैको बिदा २३ गते सम्म थियो बैकहरूमा समेत ढिला खुल्यो त्यस कारण हामीले दसैँ सकिएको चार दिन पछि भत्ता वितरण गरेका हौ । सङ्घीय सरकारले लोपोन्मुख राउटे समुदायलाई जनही चार हजार रुपियाँ दिने गरेको छ ।

राउटे समुदायका शिक्षक लाल बहादुर खत्रीले अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारले तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजार गरी जनही पाँच हजार भत्ता दिएको भए पनि कर्णाली प्रदेश सरकारले पछि भत्ता दिन छाडेको बताए । उनले अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सात महिनाको एकमुष्ट भत्ता दिएको भए पनि पछि कटौती गरेको बताए । कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताउँने राउटे समुदाय गुराँस गाउँपालिका–८का स्थायी बासिन्दा हुन ।