राउटे बस्तीमा दशैको चटारो
दैलेख : गाउँ सहरमा दशैँको रैनकले छाइसकेको छ । दशै मनाउने गाउँघर फर्कने देखी सहर बजारमा किनमेल गर्नेको भिडभाड पनि बाक्लो छ , अझै दैलेख सदरमुकामको साँघुरो बजारमा ओहोर दोहरो गर्न कठिन छ । हिन्दुहरूमा महान् पर्व दशैँको स्वागतका लागी गाउँ सहर मात्र होइन जगलमा फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय भव्य तयारीमा जुटेका छन् । जाजरकोट जिल्ला बाट भगवतिमाई गाउँपालिका १ पगनाथमा बस्ती सरेका राउटे समुदायमा दशैको रैनकले छोइसकेको छ ।
समुदायका अगुवाहरू गाउँ गाउँ र बजार केन्द्रित भएर आफ्नो जनताका लागी विभिन्न सहयोग माग्दै हिँड्ने समेत गरेका छन् । केही दिन अघि मात्र प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल सँग आफूलाई दसैँमा मासुको व्यवस्था गर्न माग गरेका राउटेलाई शुक्रवार भगवतिमाई गाउँपालिकाले दुई वटा खसी दिएको छ । भगवतिमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले राउटे समुदायका लागि पालिका बाट दुई वटा खसीको व्यवस्था गरिएको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई भने पछि प्रमुख जिल्ला अधिकारीले दुई खसी भगवतिमाई गाउँपालिका र एक खसीको व्यवस्था गुराँस गाउँपालिकाले गर्ने सहमति अनुसार खसी शुक्रवार बस्तीमा पुगेर हस्तान्तरण गरिएको बताए । उनले भने राउटे समुदाय खोलाको तिरमा बसेको हुँदा पालिका बाट ९६ थान पि फर्म समेत हस्तान्तरण गरेका छौ ।
सामाजिक सुरक्षा भत्ता पाएनन्
फिरन्ते जीवन बिताउने यो समुदायका ४३ घरधुरीमा गरी १४४ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै पुगेर राउटे समुदायलाई अघिल्लो वर्षको सामाजिक सुरक्षा भत्ता साउन ८ गते वितरण गरेको थियो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक रु चार हजार प्रदान गर्दै आएको छ । राउटे परियोजना मार्फत समुदायमा खटिएका शिक्षक लाल बहादुर खत्रीले राउँटेहरुले पाउने भत्ता नआएको कारण राउटेहरूलाई दशै मनाउन समस्या भएको बताए । उनले कोलिनिका मार्फत गुराँस गाउँपालिका–८ को वडा कार्यालयमा भत्ता निकासा गरेको भए पनि अहिले सम्म भत्ता वितरण हुन नसकेको बताए । उनले भने राउटेले समुदायका अगुवाले भत्ता आएपछि दिने भनेर घरमा खसी ल्याएको भए पनि भत्ता नआएपछि उनीहरू चिन्तामा रहेका छन् ।
राउटे समुदायले दशैको बेल बन पूजा र घर पूजा गर्ने चलन रहेको र बन पूजाका लागी प्रतिव्यक्ति कुखुरा चाहिने र घर पूजाका लागी खसी चाहिने चलन रहेको छ । भत्ता नआएका कारण कुखुराका चल्ला समेत किन्न नसकिएको राउटे मुखिया सूर्य नारायण शाहीले बताउनुभयो । उहाँले भन्नुभयो बन पुजा गरेपछि घर पुजा गर्ने हाम्रो संस्कार छ बस्तीमा न चामल छ न खसी कुखुरा केही नहुने भयो ।
गुराँस गाउँपालिका –८ का वडाध्यक्ष दीपेन्द्र वलीले कोष नियन्त्रण कार्यालयले शुक्रवार अबेर वडा कार्यालयको खातामा रकम जम्मा गरेका कारण भत्ता वितरणमा ढिलाइ भएको बताए । उनले शुक्रवार आयो शनिवार बैक बन्द हुने हुँदा आइतबार आफूहरूले भत्ता वितरण गर्ने योजना बनाएको बताए । यस अघि उनीहरू दैलेखको भगवतिमाई गाउँपालिका –४ मन्घरमा बसोबास गरेका थिए । समुदायमा जेष्ठनागरिक भएका कारण पनि बजार आसपासको छउछाउँमा पछिल्लो समय बस्ती सर्ने गरेका छन् ।
राउटे अगुवाका अनुसार दशैँका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसी बोका काट्ने गर्दछन् । यो दसैँलाई ‘असोजे दशैँ’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् । दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरू कहिल्यै नाच्दैनन् । मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै सृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताए । “सिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उनले भने त्यही भएर सिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छौँ ।
साविक मध्यपश्चिम तथा सुदुरपश्चिमा विभिन्न जिल्लामा बसोबास गर्ने राउँटे समुदाय गुराँस गाउँपालिका –८ का स्थायी बासिन्दा हुन । उनीहरुलाई गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको परिचयपत्र समेत दिएको छ ।