Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सडक सोर्हर्दै स्थानीय तह

दैलेख  :  दैलेख जिल्लामा रहेका तत्कालीन ५५ गाउँ विकास समितिले वातावरणीय प्रभाव मुल्याङकन र प्राविधिक स्टीमेट बिनै धमाधम उदारो सडक खने । नेपालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको प्राथमिकता सडक बन्यो । सडककै कारण थुप्रै समस्या व्योहोर्नु परेको भन्दै पहिलो वर्षको बजेटमै सडक पूर्वाधार निर्माणमा जोड दिए ।

सडकसहित पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य प्राथमिकतामा परे । जनप्रतिनिधिले गाउँ गाउँमा सडक, घरघरमा धारा, बिजुली बत्तीको पर्याप्तता जस्ता नारा दिए। अहिले उनीहरूले प्रतिबद्धता गरे बमोजिम अधिकांश गाउँमा सडक पुगिसकेको छ । जनप्रतिनिधिले सडकको विकास भए पनि मात्र अन्य क्षेत्रको विकास हुने भन्दै सडकलाई प्राथमिकता दिए फलस्वरूप गाउँका टोल टोलमा सडकको ट्याक खुल्यो तर ती सडक हिउँदको समयमा मात्र गाडी गुड्छन् ।

भगवतिमाई गाउँपालिका –२ का वीर बहादुर बोहराले गाउँ गाउँमा सडक खनिए पनि बर्सातको समयमा समेत गाडी चल्ने सडक कहिल्यै निर्माण नभएको बताए । उनले गाउँ विकास समिति हुँदा खनेका सडकको समेत स्तर उन्नति नहुँदा यात्रा गर्न कठिन भएको बताए । उनले भने सडक खनेको एक दशक सम्म स्तर उन्नति हुँदैन बर्सेनि सडकमा डोजर लागेकै हुन्छ यो नेता पाल्ने बाहेक अरू केही भएन ।

भगवतिमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले स्थानीय तहको पहिलो निर्वाचन देखी अहिले सम्म सडक सोर्न बहानामा करोड रुपैयाँ खर्च गरिएको बताए । उनले प्रत्येक वर्ष प्रत्येक वडामा पुग्ने सडक मर्मतमा रकम छुटाउनु पर्ने बाध्यता रहेको बताए । उनले भने सडक सोर्न रकम हाल्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रममा रोजगारी दिएकाहरूलाई समेत सडक निर्माणमा लगाउने गरेको छ ।

 

महावु गाउँपालिका १ का वासुदेव भट्टराईले सडक निर्माण गर्दा नाली निर्माण नगर्ने समस्याका कारण सडकमा मात्र बर्सेनि करोडौँ रकम खर्च हुने गरेको बताए । उनले सडकको ठेक्का लगाउँदा नै प्राविधिकले सडक नाला निर्माण गर्ने गरी स्टमेट गर्नु पर्ने बताए । उनले भने गाउँपालिका तथा नगरपालिकाका वडामा पुग्ने सडक नेताहरू पाल्ने माध्यम भएको छ ।

नौमुले गाउँपालिका अध्यक्ष छवि सुबेदीले नौमुले गाउँपालिकामा रहेका आठ वडामा सडक सोर्न एक वडामा ५ देखी ७ लाम सम्म रकम बिनियोेजन गरेको बताए । उनले बर्सातको समयमा सडक सोर्न रकमले डोजर किनौँ भन्दा समेत अन्य जनप्रतिनिधिले सहमति नजनाएको बताए ।

महावु गाउँपालिका –२ का वडाध्यक्ष प्रकाश थापाले सडकमा एकै पटक धेरै लगानी गर्न नसक्ने समस्याका कारण बर्सेनि सडकमा रकम विनियोजन गर्नु पर्ने बाध्यता रहेको बताए । उनले भने हिउँदमा गाडी चल्छन् बर्सातको समयमा पानीले सडक भासिन्छ अनि जनतालाई सहज यातायात सेवाका लागी पनि सडक सोर्न काम गर्नुपर्छ । जिल्लाका ११ स्थानीय तहले प्रत्येक वर्ष सडक सोर्न बहानामा करोडौँ रकम सक्ने गरेको नागरिक समाजका अगुवाहरूले बताएका छन् ।