हवाई यात्रुुलाई टिकट पाउनै सास्ती
हुम्ला : बडादशैं सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ । अन्य बेला कर्णालीका हिमाली जिल्लामा उडान भर्ने निजी एयरलाइन्सहरु काठमाडौं फर्केपछि सिमकोट र नेपालगन्जमा यात्रुुहरुलाई टिकट पाउन सास्ती भएको हो ।
सात दिनदेखि नेपालगन्ज झर्ने तयारी गर्नुभएका यात्रुु दीपेन्द्र भण्डारीले हवाई टिकट नपाएर हैरानी भएको बताए ।उनले अरु बेला दैनिक दशदेखि पन्द्र वटा उडान भर्ने निजी एयरलाइन्सका जहाजहरुले दशैंको बेला दैनिक एक मात्र उडान भर्दा हुुम्लाका यात्रुुहरुलाई यो समस्या भएको बताए ।
त्यो पनि समिट एयरले दिनमा एक मात्र उडान भर्ने गरेको छ । उनले एउटा उडानमा बढीमा सत्रदेखि अठार जना यात्रु जान पाउने तर सिमकोटबाट नेपालगन्ज र सुर्खेतका तीन सयभन्दा बढी यात्रुुहरु भए पनि दशैंमा घर जान पाउने सम्भावना नरहेको बताए ।
दशैंका लागि आआफ्नो घर जाने तयारीमा कर्मचारी, व्यापारी, सुरक्षाकर्मीलगायतका मानिसलाई यतिबेला एयरलाइन्सका कार्यालयमा जानु टिकटका लागि कुरा गर्नु र फिर्ता हुनुु सामान्य जस्तै भएको छ । समिट एयरको कार्यालयमा टिकट पाउन तँछाडमछाडको अवस्था छ । यो समस्या सिमकोटमा मात्र नभएर नेपालगञ्जबाट सिमकोट आउने यात्रुुहरुको पनि उस्तै छ । चार दिनदेखि नेपालगन्जबाट सिमकोट आउने तयारी गरि रहेका यात्रु शैलेश रावतले टिकट पाउने सम्भावना नरहेको बताए ।
उनले हाल सिमकोट जाने यात्रुुहरु नेपालगन्जमा तीन सयभन्दा बढी रहेको र अझै देशका अन्य भागमा अध्ययन तथा कामका सिलसिलामा गएका मानिस आउने क्रम जारी रहेको बताए । उनले गतवर्ष पनि दशैंमा यही समस्या भोगेर घर नगएर फिर्ता हुनुुपरेको दुुःखेसो सुनाए । यतिबेला नेपालगन्ज विमानस्थमा विद्यालय र कलेजमा उच्च शिक्षा अध्ययनका लागि बाहिर बस्दै आएका विद्यार्थीहरुको घुुइँचो लाग्ने गरेको छ ।