Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विद्यालयमा अनुपस्थित शिक्षकको तलब कट्टा गर्न विब्यसलाई पत्र 

दैलेख  :  जिल्लाको महावु गाउँपालिकाले विद्यालय अनुगमनका क्रममा विद्यालयमा अनुपस्थित रहेका शिक्षकको तलब कट्टा गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयलाई पत्र लेखेर तलब भत्ता कटाएर मात्र भुक्तानी दिन पत्राचार गरेको हो ।

महावु गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कृष्ण बहादुर ओलीले विद्यालय र गाउँपालिकामा खबर नगरी आफ खसी विद्यालयमा हाजिर नभएका शिक्षकको उक्त दिनको तलब कट्टा गरी अन्य तलबको मात्र भुक्तानी दिन पत्र काटेको बताए । उनले शिक्षा नियमावली २०५९ को परिच्छेद ३ को दफा १७ को (त) बमोजिम उक्त पत्र काटिएको बताए ।

उनका अनुसार गैडाबाज माविका ९ जना, जयन्ती मावि खरिगैराका ८ जना, जगदीश मावि ऐराडीका ६ जना र भैरव मावि रानीवनका १ जना शिक्षकको तलब कट्टा पत्र काटिएको छ ।

महावु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले गाउँ शिक्षा समितिको निर्णय अनुसार विद्यालय अनुगमन गरिएको र विद्यालयमा अनुपस्थित शिक्षकको तलब कट्टा गर्ने अधिकारी शिक्षा शाखा प्रमुखलाई दिएको बताए । उनले गाउँपालिकाले आफ खसी विद्यालयमा नजाने र तलब भत्ता खाने गरेको गुनासो आएपछि यस्तो निर्णय गर्न बाध्य भएको बताए । उनले भने आगामी दिनमा समेत यसको निरन्तरता दिने र गुणस्तरीय शिक्षामा जोड दिने पालिकाको उद्देश्य रहेको बताए ।