Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

एमाले अध्यक्ष ओली जनकपुर–जयनगर रेलमा सरर


धनुषा  :  नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेका छन । धनुषा निर्वाचन क्षेत्र नं २ मा पर्ने विदेह नगरपालिकामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जानेक्रममा उनले नेपालको एक मात्र जनकपुर–जयनगर रेल चढेर यात्रा गरेका हुन ।

पूर्व प्रधानमन्त्री ओली नेतृत्वको सरकारले धनुषाको कुर्थादेखि जनकपुरधाम हुँदै भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि रेलको दुई वटा इन्जिनसहितको वोगी भारतबाट खरिद गरेको थियो । ओली धनुषा आएकोबेला रेलको यात्रा गरेका एमाले केन्द्रीय सदस्य सञ्जीव झाले जानकारी दिए । पूर्व प्रधानमन्त्री रेल यात्रा गर्ने भएपछि शनिबार एक घण्टा ढिलो गरी रेल जनकपुरधामबाट भारतको जयनगरसम्मका लागि प्रस्थान गरेको थियो ।

पूर्व प्रधानमन्त्री ओली धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन तेस्रो स्टोपिज महिनाथपुरसम्मको यात्रा गरेका थिए । उनी संगै रेल खरिदमा मन्त्रालयबाट पहल गरेका तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पूर्वमन्त्री एवम् एमालेका नेत्री जुली महासेठसहितका नेताहरू रेलमा यात्रा गरेका थिए ।

एमालेले नेपाल रेल्वे कम्पनीबाट ५६ वटा एसी क्लास तथा ८६ वटा साधारण वोगीको रेलका टिकट खरिद गरी ओलीलाई रेलको यात्रा गराएको थियो । जनकपुरधामको रेल्वे स्टेसनमा पूर्व प्रधानमन्त्री ओलीलाई रेल्वेका महाप्रबन्धक निरञ्जन झासहितका रेल्वेका कर्मचारीहरूले स्वागत गरेका थिए ।