मध्यपहाडी राजमार्ग निर्माणमा गुणस्तरहिन काम
दैलेख : मध्य पहाडी पुष्पलाल राजमार्गको दैलेख लोहोरे सडक खण्डको किमुगाउमा लगाउन सुरु गरेको पलम कङ्क्रिट वालमा गुणस्तरहीन काम भएको पाइएको छ । वालमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि मध्य पहाडी पुष्पलाल राजमार्ग योजना कार्यालय बाट गएको प्राविधिक टोलीले तत्काल काम रोक्न निर्देशन दिएको हो । शर्मा एन्ड हाई हिमालय जेभी ललितपुरले जिम्मा पाएको उक्त खण्डमा निर्माण गर्न लागिएको पलम कङ्क्रिटवाल निर्माणमा माटो मिसिएको बालुवा प्रयोग गरेपछि स्थानीयले विरोध गरेका थिए । ६४ करोड ७८ लाख लागत रहेको उक्त सडकखण्ड विस्तारका लागि शर्मा एण्ड हाई हिमालय जेभिले ४१ प्रतिशत घटेर ३८ करोड १९ लाखमा सम्झौता गरेको थियो । २०७७ साल जेष्ठ २९ गते ठेक्का सम्झौता गरी २०७९ असार मसान्तसम्म सक्नुपर्ने काम आधा नहुँदै पुनः एक वर्ष सम्झौता म्याद थपिएको छ ।
मध्य पहाडी पुष्पलाल योजना कार्यालयका इन्जिजिएर देवेन्द्र भट्टराईले पत्रपत्रिका आएको जसरी बालुवाको साटो माटोको प्रयोग भन्दा पनि बालुवा नपखालेर प्रयोग गरेको बताए ।उनले स्थानीयले विरोध गरे लगत्तै आफूहरू त्यहाँ गएर काम रोक्न लगाएको बताए । उनले भने निर्माण कम्पनीले पलम कङ्क्रिटवाल निर्माण गर्दा केही मात्रमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइयो हामीले काम रोक्न लगाएर राम्रो बालुवा पखालेर वा छानेर मात्र प्रयोग गर्न निर्देशन दिएका छौ ।
इन्जिनियर भट्टराईले भने सडक निर्माणको काम पेटीमा लिने निर्माण कर्ताबाट समस्या हुने गरेको छ उक्त सडक खण्डमा वाल निर्माण कार्यमा लापरबाही भएको जानकारी पछि लगातार अनुगमन गर्दै आएको छौ । हामीले निर्माण कम्पनीलाई बालुवा छानेर मात्र प्रयोग गर्न बारम्बार भन्दै र पत्र काटेका पनि हौँ ।
मध्य पहाडी पुष्पलाल राजमार्ग योजना कार्यालयले राजमार्गको दैलेख खण्ड एक सय २५ किलोमिटरमा करिब ८० किलोमिटर भन्दा बढी कालोपत्रे भएको जानकारी दिएको छ । आयोजनाले आव ०७३÷०७४,०७५÷७६ र ०७७÷०७८ मा ठेक्का आह्वान भएर ठेक्का लागेका कामहरू भइरहेको जनाएको छ । आयोजनाले बर्सातको समय भएका कारण नाली निर्माण,गाभिन भर्ने, मेसेनरी वाल लगाउने,र पहिरो गएको ठाउँमा पहिरो र्सोने काम भइरहेको जनाएको छ ।