खर्च विवरण नबुझाउने दैलेखका ८३१ उम्मेदवारलाई जरिबाना
दैलेख : तोकिएको समय सीमाभित्र निर्वाचनको खर्च नबुझाउने दैलेखका ८ सय ३१ जना उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । दुई जना निर्वाचित नगरपालिकाका उपप्रमुख र एक जना गाउँपालिका उपाध्यक्षसहित ८ सय ३१ जनालाई आयोगले जरिवाना तोकेको हो ।
निर्वाचन आयोग ऐन अनुसार निर्वाचन खर्चको विवरण पेश गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको विल भरपाई सहित आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्छ । सोहि अनुरुप र निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले जरिबाना तोकेको हो ।
आयोगले दैलेखका चार नगरपालिकाका १८ जना प्रमुख–उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजार र सात गाउँपालिकाका २३ जना अध्यक्षरउपाध्यक्षका उम्मेदवारलाई जनही ३ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
आयोगले नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई जनही २ लाख रुपैयाँ जरिबाना तोकेको छ । जरिबानामा पर्ने नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यसहितको संख्या आठबीसका एक सय ३९, चामुण्डाविन्द्रासैनीका एक सय २२, दुल्लुका ७४ र नारायण नगरपालिकाका एक सय २० जना छन् ।
यसैगरी आयोगले दैलेखका सात गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यलाई जनहि एक लाख ५० हजार लाख रुपैयाँ जरिबाना तोकेको छ । जरिबानामा पर्ने गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुमध्ये गुराँसका २३, ठाटीकाँधका २५, डुङ्गेश्वरका ५३, नौमूलेका ६७, भगवतीमाईका ४०, भैरबीका ४१, महाबुका ८६ जना उम्मेदवार छन् । जरिबानामा पर्नेमा अधिकाँश निर्वाचित जनप्रतिनीधि छन् ।
निर्वाचन आयोग ऐन अनुसार आयोगले तोकेको जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ ।