एक हजार मतदाताको नामावली हटाइयो
दैलेख : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोजनार्थ सञ्चालित मतदाता नामावली अद्यावधिक दाबी विरोधमा एक हजार तीन सय ३७ जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरूको नामावली हटाइएको हो ।
जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाकाले कुल एक हजार ३३७ जना मतदाताको नामावली हटाइएको जानकारी दिइन । उनले मृत्यु भएका चार सय ४७ जना र दोहोरो नामावली भएका सात सय ९० जनाको नामावली हटाइएको बताइन । उनले भनिन निर्वाचन आयोगले सफ्टवेयर मार्फत अन्तमी नामावलीको गृहकार्य गरिरहेको र जिल्लाको कुल मतदाता संख्या केही तलमाथि हुन सक्छ ।
नामावली अद्यावधिक पछि कुल मतदाता संख्या एक लाख ६१ हजार २६८ रहेको छ । जसमा पुरुष ८० हजार ४६८ र महिला ८० हजार ८०० रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा दैलेखमा एक लाख ५८ हजार ९७८ जना मतदाता रहेका थिए ।