देश बचाउनका लागि एमालेलाई बुहमत : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् । सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।
अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने भन्दै ओलीले भने, ‘पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको छ । अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन हुँदैन ।’ एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधारलगायतको विकास हुने उनको दाबी छ । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने भन्दै अहिलेको निर्वाचन समान्य निर्वाचन नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए ।